राष्ट्रपति जेलेन्सकीलाई भेट्न युरोपेली नेताहरूको खतरनाक रेल यात्रा
काठमाण्डौं, २०७८ चैत २ गते बुधबार । रुसी आक्रमण चर्किएसँगै युक्रेनको साथमा उभिनका लागि पोल्याण्डदेखि किएभसम्म लामो खतरनाक रेल यात्रा गरेर पुगेका तीन जना युरोपेली नेताहरूको युक्रेनले प्रशंसा गरेको छ।
मङ्गलवार साँझ किएभमा कर्फ्यु लागु रहेकै बेला पोल्याण्ड, स्लोभेनिया र चेक गणतन्त्रका प्रधानमन्त्रीहरूले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीसँग भेट गर्नुभएको थियो ।
“हामी तपाईँहरूको साहसी लडाइँको प्रशंसा गर्छौँ,” भेटपछि सामाजिक सञ्जाल ट्विटरमा पेत्र फियालाले लेख्नु भयो। ”हामीलाई थाहा छ तपाईँहरूको हाम्रो जीवनका लागि पनि लडिरहनु भएको छ। तपाईँहरू एक्लो हुनुहुन्न। हाम्रा देशहरू तपाईँका साथमा छन्।”
पोल्याण्डका प्रधानमन्त्री मातेउस मोराभिएत्सकीले आफूहरूले युक्रेन गुमाए युरोप अहिलेको जस्तै नहुने टिप्पणी गर्नुभएको छ । मोराभिएत्सकी, फियाला र स्लोभेनियाका यानेस यान्सा गत फेब्रुअरी २४ तारिखमा रुसले आक्रमण सुरु गरेयता युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीलाई भेट्ने प्रथम अन्तर्राष्ट्रिय नेता हुनुहुन्छ ।
“तपाईँहरूको भ्रमण युक्रेनको लागि समर्थनको शक्तिशाली अभिव्यक्ति हो,” जेलेन्सकीले किएभ पुगेका नेताहरूको समूहलाई भनेको बताइएको छ।
किएभमा युरोपका तीन नेताहरूसँग छलफल भइरहेका बेला ठूलो विस्फोटनको आवाज सुनिएको थियो। युक्रेन पुगेका नेताहरूले आफूहरूसँग कुनै निश्चित म्यान्डेट नरहेको तर फ्रान्समा गत हप्ता भएको युरोपेली सङ्घको सम्मेलनका क्रममा उल्लेख गरिएका कारण ब्रसल्सका नेताहरूलाई भ्रमणको जानकारी रहेको बताउनु भयो। बीबीसी