Sun. May 31st, 2026

युक्रेनमाथि रुसको आक्रमण तिब्र, १ सय ३७ जना युक्रेनी नागरिकको ज्यान गयो

       

काठमाण्डौं, २०७८ फागुन १३ गते शुक्रबार । रुसले छिमेकी देश युक्रेनमा सैन्य आक्रमणलाई तिब्र गरेको छ। बिहीवार रुसी सैनिकहरूले युक्रेनी सीमा पार गरेर ठूला सहरनजिकै अवस्थित सैन्य संरचनाहरूमा बम प्रहार गरेका छन्। पछिल्लो जानकारी अनुसार आक्रमणमा परि १ सय ३७ जना भन्दा धेरै युक्रेनी सेना र सर्वसाधारणको ज्यान गएको छ ।

युद्ध चर्कँदै गएसँगै युक्रेनले आमरूपमा सेना परिचालन गर्ने घोषणा गरेको छ। देशवासीलाई राष्ट्रको रक्षा गर्न आग्रह गरिएको छ।

यसैबीच, पश्चिमा राष्ट्रहरूले रुसमाथि थप आर्थिक प्रतिबन्धहरूको घोषणा गरेका छन्। रुसका ब्याङ्क अनि उच्च अधिकारीहरूमाथि प्रतिबन्ध लगाइने उनीहरूले बताएका छन्।

तर उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोका सदस्य राष्ट्रहरूले युक्रेनमा सेना भने नपठाउने बताएका छन्। अर्को प्रसङ्मा अमेरिकाले युरोपमा सात हजार थप सेना पठाउने भएको छ।

जर्मनीमा पठाउन लागिएको अमेरिकी सैन्य बलले युरोपस्थित नेटोका सदस्य राष्ट्रहरूलाई प्रत्याभूति दिलाउने अमेरिकी भनाइ छ।

संयुक्त राष्ट्रसङ्घले एक लाखभन्दा बढी मानिसले युक्रेन छोडिसकेको अनुमान गरेको छ। बीबीसी

Facebook Comments