Tue. Jan 7th, 2025

नेपाल र प्रजातान्त्रिक गणतन्त्र टिमोर-लेस्टेबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाण्डौं, २०७८ माघ २९ गते शनिबार । नेपाल र प्रजातान्त्रिक गणतन्त्र टिमोर-लेस्टेबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यो सँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध भएका देशको सङ्ख्या १७३ पुगेको छ ।

संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र सोही विश्व संस्थाका लागि उक्त मुलुकका स्थायी प्रतिनिधि कार्लिटो नुनेसले कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त पत्रमा शुक्रबार हस्ताक्षर गर्नुभएको हो ।

दुवै राजदूतले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसलाई नेपाल र टिमोर-लेस्टेबीच कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी गराउने सम्बन्धी संयुक्त पत्रमा पनि शुक्रबार नै हस्ताक्षर गर्नुभएको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नेपाली नियोगले आज जनाएको छ ।

त्यस अवसरमा दुवै देशका राजदूतले राष्ट्रिय तथा बहुपक्षीय परिवेशमा विशेषगरी राष्ट्रसङ्घीय मञ्चहरूमा साझा हितका विभिन्न विषयमा द्विपक्षीय सहयोगलाई अझ सुदृढ तुल्याउने विषयमा विचार आदान-प्रदान गर्नुभएको थियो ।

प्रजातान्त्रिक गणतन्त्र टिमोर-लेस्टे दक्षिणपूर्व एशियामा अवस्थित १५ हजार वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको देश हो । तेह्र लाख ७० हजार जनसङ्ख्या भएको उक्त देशले २७ सेप्टेम्बर २००२ मा राष्ट्रसङ्घको १९१औँ सदस्यको रुपमा प्रवेश पाएको हो । नेपाल र टिमोर-लेस्टे असंलग्न आन्दोलनका सदस्य हुन् । गोरखापत्र अनलाईन

Facebook Comments