उपत्यकाका सार्वजनिक सवारीमा लगाईएको जोरबिजोर प्रणाली हटाईयो
काठमाण्डौं, २०७८ माघ १४ गते शुक्रबार । काठमाण्डौं उपत्यकामा चल्ने सार्वजनिक सावरीमा लागू गरिएको जोर-बिजोर प्राणली हटाईएको छ । काठमाण्डौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले निजी र ट्याक्सी बाहेकका सार्वजनिक सवारीमा लागू भएको जोर-बिजोर प्रणाली हटाउने निर्णय गरेको हो।
आज शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो। काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार मध्यरातदेखि लागू हुनेगरी यो निर्णय भएको हो।
यसअघि शुक्रबार नै कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली हटाउन सरकारलाई सिफारिस गरेको थियो। सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको निर्णय गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिए अनुसार यो निर्णय भएको हो।
जोरविजोर प्रणाली लागू गर्दा यात्रुहरुको चाप नघट्ने तर सवारी साधनमात्र घट्दा कोरोनाको संक्रमण अझ बढ्ने भन्दै चारैतिरबाट गुनासो र जोरविजोर हटाउन दवाव आउन थालेपछि उपत्यकामा कायम रहेको जोर विजोर प्रणाली हटाउने निर्णय गरिएको हो । जोरविजोर प्रणाली लागूहुँदा सीटको क्षमता भन्दा झण्डै तेब्बर मानिसहरु सवारी साधनमा यात्रा गर्न बाध्य थिए जसले कोरोना संक्रमण भयावह रुपमा फैलने पक्का थियो ।