Sun. Nov 24th, 2024

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा नयाँ कार्यसमितिका लागि मतदान सुरु

काठमाण्डौं, २०७८ मंसिर १८ गते शनिबार । काठमाण्डौमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनमा १९९ सदस्यीय नयाँ कार्यसमितिका लागि आज भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा मतदान सुरु भएको छ ।

यही मङ्सिर १५ देखि सुरु भएको महाधिवेशनमा अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारीसहित केन्द्रीय सदस्यका लागि निर्वाचन गरिएको नेता सुन्दर पाण्डेले जानकारी दिनुभयो । सभागृहमा सुरु भएको मतदान साँझ ५ बजेसम्म सञ्चालन हुनेछ ।

अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी दिनुभएको छ । बाँकी चार उपाध्यक्ष, तीन महामन्त्रीका साथै अन्य केही पदाधिकारी नयाँ कार्य समितिले मनोनीत गर्ने व्यवस्था छ ।

उपाध्यक्ष र महामन्त्रीमा कम्तीमा एक महिला हुनुपर्ने व्यवस्था गरिएको छ । करिब दुई वर्ष अगाडि राप्रपा र राप्रपा (संयुक्त)को एकतापछि पहिलो पटक हुन लागेको उक्त अधिवेशनमा यस पटक नेतृत्वका लागि तीव्र प्रतिस्पर्धा देखिएको छ ।

निर्वाचनका लागि देशभरबाट करिब चार हजार ७०० प्रतिनिधि छनोट भएका छन् ।

पार्टीका नेता तथा कार्यकर्ताले आफ्नो पक्षको नेतृत्व चयनका लागि मतदातासँग आग्रह गरेका छन् । निर्वाचनमा अध्यक्ष पदका लागि मतपत्र तथा अन्य पदाधिकारी र केन्द्रीय सदस्यका लागि  विद्युतीय मतदानको  व्यवस्था छ ।

अध्यक्ष पदको परिणाम आउन केही समय लाग्ने भए पनि विद्युतीय मतदानको परिणाम आजै रातिसम्म आउने अपेक्षा गरिएको छ । रासस 

Facebook Comments