Fri. Sep 20th, 2024

तिहारको अन्तिम दिन आज भाइटीका श्रद्धा, आस्था र निष्ठाका साथ भव्य रुपमा मनाईयो

काठमाण्डौं, २०७८ कात्तिक २० गते शनिबार । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाईयो ।

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट दिनैभर टीका ग्रहण गरेका छन् । यमपञ्चक समेत भनिने तिहार पर्व अन्तर्गत आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । आज दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।

दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ । भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११स्०२ बजेको समय उत्तम रहेको थियो ।

यस वर्ष भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन् । शुभ कर्ममा चन्द्रमालाई अघि वा दाँहिने पार्नु पर्ने शास्त्रीय नियम छ ।

आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र पर्शुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताकोसमेत पूजा आराधना गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरी लगायतका फूलका माला लगाइदिने गरिन्छ ।

 

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।

दिदीबहिनी र दाजुभाइ नहुनेका लागि यमलेश्वर खुला

दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको यमलेश्वर मन्दिर खुलाइने प्रचलन छ अनुरुप खुला गरिएको छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुने भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।

 

 

आज भाइटीको साईत विहान ११ वजेर २ मिनेटमा भए पनि काठमाडौंका विभिन्न स्थानमा मानिसहरुले विहान १० वजेतिर नै टीका ग्रहण गरेर हिडेको देखिन्थ्यो । अरुबेला लामो समयसम्म सवारी साधनले जाम हुने काठमाण्डौं उपत्यकाका सडकहरु आज सुनसान जस्तै देखिए ।

विहान ११ वजेसम्म पनि मानिसहरु सडकमा टीकाको लागि आवश्यक सामग्री र फलफूल तथा मिठाईहरु किनिरहेको दृश्य पनि ठाउँठाउँमा देखिन्थ्यो । सार्वजनिक सवारीका साधनहरु एकदमै कम गुडेका हुनाले पनि माइत जाने चेली र चेलीसँग टीका लगाउन जाने माईती अलपत्र परेको दृश्य पनि आज विभिन्न ठाउँमा देखिन्थ्यो ।

Facebook Comments