Tue. Nov 26th, 2024

बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यद्वारा राजीनामा, मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेद्वारा दाबी पेस

काठमाण्डौं, २०७८ कात्तिक १० गते बुधबार । नेकपा एमालेभित्र केहीसमय अघिसम्म देखिएको चर्को विवादका कारण चारवटा प्रदेशमा नेतृत्व सम्हालेको एमाले प्रदेश नम्बर एकमा खुम्चिएको छ । प्रदेश नम्वर एकमा पनि केही दिन भित्रै सो पार्टीले मुख्यमन्त्री गुमाउने निश्चित भएको छ ।

आज बागमती प्रदेशमा आफ्नो सरकार गुमाएसँगै एमाले नेतृत्वको सरकार अब प्रदेश नं १ मा मात्रै बाँकी छ। यसअघि एमालेले गण्डकी र लुम्बिनी प्रदेशको सरकार गुमाएको थियो। प्रदेशसभाबाट विश्वासको मत नपाउने निश्चित भएपछि मतपरीक्षणअघि नै बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभा बैठकमा आफ्नो राजीनामाको घोषणा गर्नुभएको हो ।

“नेपालको संविधानको धारा ६९ को १ क बमोजिम मैले मुख्यमन्त्रीको नाताले मार्ग प्रशस्त गरेकी छु। छोटो समयमा पनि मलाई सहयोग गर्नुभएको छ त्यसका लागि म सबैलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु,” राजीनामा घोषणा गर्दै शाक्यले भन्नुभयो ।

गत भदौ २ गते मुख्यमन्त्री नियुक्त हुनुभएकी शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री हुनुहुन्थ्यो। शाक्य भन्दा अघि एमालेकै डोरमणि पौडेल उक्त प्रदेशका मुख्यमन्त्री हुनुहुन्थ्यो ।

यसैबीच, वाग्मती प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष मुख्यमन्त्री पदका प्रत्यासी राजेन्द्रप्रसाद पाण्डेले ५९ जना प्रदेश सभाका सदस्यको हस्ताक्षरसहित दाबी पत्र आजै बेलुकी बुझाउनुभएको छ ।

उहाँको समर्थनमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने चार वटा राजनीतिक दलले सर्मथनसहित हस्ताक्षर गरी दाबी पत्र बुझाइएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।

प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६९ को उपधारा १ को खण्ड क बमोजिम नयाँ सरकार गठन गर्न कात्तिक ११ गते दिउँसाे ३ बजेसम्म समयसीमा निर्धारण गर्नुभए अनुसार मुख्यमन्त्री पदका लागि प्रत्यासी पाण्डेले आजै दाबी पत्र दर्ता गराउनुभएको थियो ।

यसअघि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दिनुभएको राजीनामा आजै स्वीकृत भएपछि प्रदेश प्रमुख शर्माले नयाँ सरकारको दाबी गर्न आह्वान गर्नुभएको थियो ।

Facebook Comments