Sat. Nov 23rd, 2024

विद्युतीय पासोमा परी एकै घरका तीनजनाको मृत्यु

काठमाण्डौं, २०७८ असोज २ गते शनिबार । बर्दियामा जङ्गली बँदेललाई थापेको विद्युतीय पासोमा परी एकैघरका तीन जनाको मृत्यु भएको छ । पासोमा परी मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका-३ गोदानाका ३२ बर्षीय बालकृष्ण थारु, उहाँकी श्रीमती २९ बर्षिया सुनिता र बालकृष्णकी ४३ बर्षिया भाउजु बेलमतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गएराती खेतमा पानी हेर्न गएका बेला छिमेकीले बँदेल धपाउन धान खेतमा लगाएको विद्युतीय पासोबाट करेन्ट लाग्दा तीनैजनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरीगाउँका प्रहरी निरिक्षक कविराज रोकायले जानकारी दिनुभयो । धानखेतमा विद्युतीय पासो थापेका मृतक परिवारका छिमेकी ८२ वर्षीय राजबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भुरिगाउँकाले जनाएको छ ।

जंगली जनावारबाट खेतवारीमा लगाइएको अन्नबाली जोगाउनका लागि विद्युतीय पासो थाप्दा यस अघि पनि करेन्ट लागेर दुई वटा जंगली हात्ती र एक जना युवाको मृत्यु भैसकेको छ । गोरखापत्र अनलाईन

Facebook Comments