Sat. Sep 21st, 2024

अफगानिस्तान द्वन्द्व: काबुल विमानस्थलमा भद्रगोल, कम्तीमा पाँच जनाको मृत्यु

काठमाण्डौं, २०७८ साउन ३२ गते सोमबार । तालिबानले अफगानिस्तान नियन्त्रणमा लिएपछि देश छाड्न खोजिरहेका सयौँ मानिसहरूबीच काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा अनियन्त्रित अवस्था सिर्जना हुँदा केही मानिसहरू मारिएका छन्।

त्यहाँ कम्तीमा पाँच जनाको मृत्यु भएको विवरण सार्वजनिक भएका छन्। अफगानहरू विमानमा टाँसिएका र त्यो धावनमार्गबाट उडेपछि खसेको देखिएको छ।

यात्रुहरूका अनुसार भिसाबिनै मानिसहरूलाई यात्रा गर्न दिइएको हल्लाले गर्दा ठूलो भिडभाड भएको त्यहाँ रहेका बीबीसी संवाददाता बताउँछन्।

”सामाजिक सञ्जालमा देखा परेका भिडिओमा मानिसहरू ठेलमठेल गरेर विमान चढ्न खोजेको देखिन्छ। अफगान सञ्चारमाध्यमहरूले पाएका एउटा भिडिओमा उडेको विमानमा टाँसिएका तीन जना खसेको देखिन्छ,” संवाददाता सिकन्दर केर्मानीले भन्नुभयो।

सोमवार दिल्ली आइपुगेकी एक महिलाले विश्वले अफगानिस्तानलाई यसरी अलपत्र छाडेकोमा आफूलाई विश्वास नलागेको प्रतिक्रिया दिइन्।

”हाम्रा साथीहरू मारिनेछन्। उनीहरूले मार्नेछन्। हाम्रा महिलाहरूले अब अधिकार पाउनेछैनन,” काबुलबाट आइपुगेकी उनले रुँदै भनिन्।

प्रत्यक्षदर्शीहरूका अनुसार अमेरिकी फौजले विमानतर्फ देखा परेका अनियन्त्रित भीडलाई तितरबितर पार्न हवाई फायर गरेको थियो। तीन जनाको शव फेला परे पनि उनीहरूको मृत्यु गोली लागेर वा भाग दौडमा के भएर भएको हो भन्ने स्पष्ट छैन।

अमेरिकी राष्ट्रपति जो बाइडनका सहायक राष्ट्रिय सुरक्षा सल्लाहकार जोनाथन फिनरले अफगानिस्तानको अवस्था आफूहरूले सोचेभन्दा तीव्र गतिमा बिग्रिएको स्विकार गर्नुभएको छ ।

उहाँले अमेरिकाले सोमवारसम्ममा काबुल विमानस्थललाई सुरक्षित पार्ने बताउनु भयो । तालिबान लडाकुहरू काबुल प्रवेश गरेको दोस्रो दिन आज अफगानिस्तानको राजधानीमा एउटा असहज स्थिरता देखा परेको छ।

दिनभरजसो अधिकांश व्यवसाय र कार्यालयहरू त्यहाँ बन्द रहे। सशस्त्र लडाकुहरूले पीकअप भ्यानहरूमा तालिबानको झन्डा फहराउँदै सडकमा गस्ती गरेका थिए।

तर अझै काबुल सहर वा अफगानिस्तानको नेतृत्व कसले गरिरहेको छ भन्ने स्पष्ट छैन। एकजना महिला अधिकारवादी महबुवा सेर्जाले भन्नुभयो, ”हामी एउटा ज्वालामुखीभित्र बसेका छौँ। किनकि यहाँबाट जुनकुनै बेला जे पनि विस्फोट हुन सम्भव छ।” बीबीसी

Facebook Comments