Sun. Sep 22nd, 2024

अफगानिस्तानका राष्ट्रपति अशरफ गनीले देश छाडेको अपुष्ट समाचार प्राप्त

राष्ट्रपति अशरफ गनी

काठमाण्डौं, २०७८ साउन ३१ गते आईतबार । अफगानिस्तानका अधिकारीहरूलाई उद्धृत गरिएका विवरणहरूमा राष्ट्रपति अशरफ गनीले देश छोडेको जनाइएको छ।

तालिबान लडाकु समूह राजधानी काबुलनजिकै पुगेका बेला यस्तो विवरण सार्वजनिक भएको हो। अफगान उपराष्ट्रपति अम्रुल्लाह सालेह पनि भागेको हुनसक्ने बताइएको छ। दश दिनको अवधिमा अफगानिस्तानका प्रमुख सहरहरू तालिबानको नियन्त्रणमा पुगेको अवस्थामा गनी राजीनामा दिनुपर्ने दबावमा हुनुहुन्थ्यो ।

उपराष्ट्रपति अम्रुल्लाह सालेह

यसअघि त्यहाँको गृह मन्त्रालयले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्न वार्ता भइरहेको जनाएको थियो। यसअघि तालिबान समूहले काबुलमा हिंसा नगर्न र बाहिरिन चाहनेलाई सुरक्षित रूपमा निस्कन दिन लडाकुहरूलाई निर्देशन दिएको थियो। आइतवार अपराह्ण अफगान राष्ट्रपतिको कार्यालयले स्थिति नियन्त्रणमा भएको दाबी गरेको थियो।

राष्ट्रपतिको कार्यालयले पाश्तो भाषामा गरेको ट्वीटमा लेखिएको छः “काबुलमा फाट्टफुट्ट गोली चलेको छ, काबुलमा आक्रमण भएको छैन। सहरको सुरक्षा सुनिश्चित गर्न देशका सुरक्षा र प्रतिरक्षा फौजहरू विदेशी साझेदारसँग मिलेर काम गरिरहेका छन्, स्थिति नियन्त्रणमा छ।”

केही सातादेखि देशका अन्य भागमा हिंसा फैलिँदा भागेका हजारौँ अफगानहरूले काबुलमा शरण लिइराखेका छन्। तालिबान काबुल आइपुगेपछि आइतवार धेरै मानिसले पैसा निकाल्न र यात्रासम्बन्धी कागजपत्र जुटाउन दौडधुप गरेको देखिएको थियो। बीबीसी

Facebook Comments