Fri. Sep 20th, 2024

एमाले विधान महाधिवेशनका लागि चार वटा समिति गठन

काठमाण्डौं, २०७८ साउन २५ गते सोमबार । नेकपा (एमाले) ले आगामी भदौ २७ र २८ गते हुने विधान महाधिवेशन तयारीका लागि चार वटा समिति गठन गरेको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आज सोमबार बसेको केन्द्रीय कमिटी बैठकले सो समिति गठन गरेको हो ।

केन्द्रीय सदस्य महेश बस्नेतकाअनुसार बैठकले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा राजनीतिक प्रतिवेदन मस्यौता समिति गठन गरेको छ । सो समितिमा बामदेव गौतम, रामबहादुर थापा, प्रदीप ज्ञवाली, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डल, विष्णु रिमाल, विन्दा पाण्डे सदस्य रहनुभएको छ ।

त्यस्तै, महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा संगठनात्मक प्रतिवेदन मस्यौदा समिति गठन गरेको छ । समितिको सदस्यहरुमा विष्णुप्रसाद पौडेल, टोपबहादुर रायमाझी, शंकर पोखरेल, किरण गुरुङ र पद्मा अर्याल सदस्य रहनुभएको छ । सोहीअनुसार विष्णुप्रसाद पौडेलको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरेको छ ।

सो समितिमा सुवासचन्द्र नेम्वाङ, पृथ्वीसुब्बा गुरुङ, लेखराज भट्ट, रघुबीर महासेठ, राधा ज्ञवाली, भानुभुक्त ढकाल, प्रभु साह सदस्य रहनुभएको छ । त्यस्तै, रामबहादुर थापाको संयोजत्वमा व्यवस्थापन समिति गठन गरेको छ । समितिको सदस्यहरुमा मणी थापा, शेरबहादुर तामाङ, सुजिता शाक्य, विनोद श्रेष्ठ, महेश बस्नेत, पासाङ शेर्पा र खिमलाल भट्टराई सदस्य रहनुभएको छ ।

कार्यक्रममा अध्यक्ष ओलीले एमाले एकताका लागि अझै आफूले मोही मथि रहेको बताउनुभयो । बाटो विर्सेका सबै नेताहरुलाई उहाँले पार्टी एकतामा आएर आफ्नो राजनीतिक आन्दोलन सुरक्षित गर्न अनुरोध गर्नुभएको केन्द्रीय सदस्य बस्नेतले जानकारी दिनुभयो । अध्यक्ष ओलीले एमाले फुटाउन केही शक्तिहरु लागेको भए पनि सफल हुन नदिइने बताउनुभयो । त्यस्तै, आफू नेतृत्वको सरकारले गरेको कामलाई वर्तमान सरकारले भत्काउने प्रयास गरेको उहाँले टिप्पणी गर्नुभयो ।

सो अघि एमालेको आजै विहान स्थायी कमिटी बैठक बसेको थियो । बैठकले नयाँ विधानमा अध्यक्ष र महासचिव महाधिवेशनले निर्वाचित गर्ने र बाँकी पदाधिकारी तथा सदस्य केन्द्रीय कमिटीले छान्नुपर्ने सिफारिस गरेको थियो । केन्द्रीय कमिटी बैठकले महासचिव पोखरेलद्वारा प्रस्तुत प्रस्तावलाई पारित गरेको छ । गोरखापत्र अनलाईन

Facebook Comments