Thu. Sep 19th, 2024

‘महाकाली तर्दातर्दै एसएसबीले तुइन काट्यो’ : वैदेशिक रोजगारीमा हिँडेका युवक बेपत्ता

- सीमाक्षेत्रमा बढ्दो भारतीय ज्याजती

काठमाण्डौं, २०७८ साउन १६ गते शनिबार । दार्चुलाको व्यास गाउँपालिका वडा नं. २ राङ्थाङ बस्तीका ३५ वर्षीय जयसिंह धामी शुक्रबार बिहान घरबाट निस्कनु भयो। वैदेशिक रोजगारीको खोजीमा काठमाडौं पुग्ने उहाँको योजना थियो । दुर्भाग्य, राजधानी पुर्‍याउने बस समात्न आफ्नै जिल्ला सदरमुकाम पुग्न पनि उहाँलाई महाकाली पारि भारतीय बाटो नहिँडी सुख थिएन । तर, दुःखका सय जँघार तर्दै पसिना बगाउन हिँड्नु भएका उहाँको सपना घरनजिकै महाकालीमा डुब्न पुग्यो ।

गाउँनजिकैको मालघाटस्थित तुइनबाट महाकाली तरेर भारतीय बाटो हुँदै सदरमुकाम आउने जयसिंहको योजना थियो । तर, नदीमा खसेर उनी बेपत्ता भएका छन् । ‘तुइनमा झुन्डिएकै बेला भारतीय सीमा सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मीले लट्ठा फुकालिदिएपछि जयसिंह महाकालीमा खसेका हुन्,’ स्थानीय बासिन्दा भन्छन् ।

स्थानीय नवीन धामीका अनुसार सदरमुकाम खलंगा जान हिँडेका ६र७ जना शुक्रबार बिहान करिब ८ बजे महाकाली किनारामा पुगेका थिए । पालैपालो तुइन तर्ने क्रममा तीन जना पारि पुगिसकेका थिए । चौथो यात्री हुनुहुन्थ्यो जयसिंह । उहाँ पनि ताङ्लो प्रयोग गरेर झन्डैझन्डै पल्लो किनार पुगिसक्नु लाग्नु भएको थियो ।

‘पारि पुग्न तीन/चार मिटरमात्र बाँकी थियो होला, त्यही बेला पारिबाट एसएसबीले रूखमा बाँधिएको लट्ठा खोलिदिए । तुइनसहित जयसिंह पनि महाकालीमा खसे, पानीको वेगले उनलाई बगायो,’ नवीनले भने । एसएसबीका सुरक्षाकर्मीले लट्ठा खोल्न थालेपछि वारिबाट मान्छेहरू चिच्याएका थिए । ‘तुइन नखोल्न एसएसबीलाई आग्रह गर्दासमेत वास्ता भएन । हात जोड्दा, सलाम गर्दा पनि फटाफट तार खोलिरहे । जयसिंहले त एसएसबीले तुइन खोलेको समेत पत्तो पाएनन्,’ नवीनले भन्नुभयो ।

तारमा लतारिएका जयसिंह नदी किनारतिरै खसे पनि उर्लंदो काली भेलले बाँच्न पाउनु भएन । ‘केही परसम्म हामीहरूले जयसिंहलाई बगेको देख्यौं, केही तलसम्म खोज्न पनि गयौं तर भेट्टाउन सकेनौं,’ प्रत्यक्षदर्शी विक्रम रङ्कलीले भन्नुभयो । लगत्तै गाउँलेलाई घटनाबारेमा जानकारी गराएपछि सबै स्थानीय जयसिंहलाई खोज्न महाकाली किनारतिर लागेको पनि उहाँले बताउनु भयो ।

घटनाबारे केहीबेरमै दुम्लिङ प्रहरी चौकीमा खबर भएको थियो । दुम्लिङ र सुन्सेरा चौकीबाट प्रहरी तथा दुम्लिङ बीओपीका सशस्त्र प्रहरी र स्थानीय खोजीमा जुटेका थिए । तर, मध्यरातसम्म पनि कतै केही पत्तो लागेको छैन । घटनालगत्तै नेपाल प्रहरीले पारिका प्रहरीलाई पनि खबर गरेको थियो । जयसिंहभन्दा अघि तरेर गएका तीन जनालाई केहीबेर नियन्त्रणमा लिएर एसएसबीले पाङ्लास्थित पोस्टमा राखेको थियो । पछि उनीहरूलाई छाडिसकेको छ । तर, उनीहरूसँग संवाद हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले जयसिंह महाकाली नदीमा बेपत्ता भएको यकिन भए पनि घटना कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको बताउनु भयो । ‘एसएसबीले तुइन काटिदिएकाले महाकालीमा खसेर उनी बेपत्ता भएको स्थानीयको भनाइ छ, तर कतिपयले एसएसबीले तुइन काट्दा जयसिंह महाकालीमा खसिसकेको बताइरहेका छन्,’ चन्दले भन्नुभयो, ‘यो विषयमा विस्तृत अनुसन्धानपछि मात्र प्रस्ट भन्न सकिन्छ ।’

त्यस्तै सशस्त्र प्रहरी बल नेपाल हेडक्वार्टर ४० नम्बर गण दार्चुलाका गणपति नरेन्द्रबहादुर बमले भारतीय एसएसबीका कमान्डेन्डसँग बुझ्दा मानिस तरिरहेकै अवस्थामा तुइन खोलेको हुन नसक्ने जवाफ आएको बताउनु भयो । ‘मानवीय संवेदनालाई मध्यनजर गर्दा यतिसम्म नगरेको होला भन्ने उनीहरूको भनाइ छ,’ उहाँले भन्नुभयो, ‘तुइन तरिरहेकै अवस्थामा उनीहरूले पनि नकाट्नुपर्ने हो तर यकिन हुन सकेको छैन ।’

तर, न्यूनतम मानवीय संवेदना पनि नराखी गराएको यो घटना लुकाउन प्रयास भएको भन्दै स्थानीय बासिन्दाले सत्यतथ्य अनुसन्धान गर्न र एसएसबीका सुरक्षाकर्मीलाई कारबाही गर्न माग गरेका छन् । नदी तर्दातर्दै तुइन काट्ने भारतीय सीमा सुरक्षा बल एसएसबीका सुरक्षाकर्मीलाई कारबाहीको माग राख्दै स्थानीयले जिल्ला प्रशासन कार्यालयमा निवेदनसमेत दिएका छन् । जयसिंहले तुइन तर्दै गर्दा पोसाक र हतियारसहित आएका एसएसबीले तुइन काटेको लिखित दाबी उनीहरूको छ ।

‘बाँच्न पाउने मानव अधिकार, न्यूनतम मानवीय मूल्यमान्यता र नेपाल–भारत सीमा क्षेत्रमा चलिआएको व्यावहारिक सम्बन्धलाई चुनौती दिँदै तुइन तरिरहेको अवस्थामा काटेर जिउँदै नदीमा बगाएको हुँदा उक्त पाशविक घटनामा संलग्न एसएसबीलाई कारबाही गर्न प्रशासनलाई आग्रह गर्दछौं,’ निवेदनमा भनिएको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय प्रशासनलाई पत्र पठाउँदै घटनाको छानबिन गर्न आग्रह गरेको छ । ‘महाकाली तरेर भारततर्फ पुग्ने क्रममा एसएसबीले तुइनको डोरी खोल्न खोजेपछि पानीले धामीलाई बगाएको भन्ने कुरा आएको हुनाले घटनाबारे सत्यतथ्य जानकारी गराएर कारबाही अगाडि बढाइदिन अनुरोध छ,’ प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले पिथौरागढ डीएम कार्यालयलाई पत्राचार गर्नुभएको छ ।

यस्तै, बेपत्ता युवकका आफन्तले घटना छानबिनको माग गर्दै महाकालीपारि भारतको पाङ्ला थानामा पनि निवदेन दिएका छन् । पहिलेदेखि नै स्थानीयले घाट बनाएर वारपार गरिँदै आएको ठाउँबाट महाकाली तरिरहँदा एसएसबीका जवानले तुइनको तार काटेकाले जयसिंह नदीमा खसेको उनीहरूको दाबी छ ।

घटना आपत्तिजनक- कांग्रेस

सत्तारुढ दल नेपाली कांग्रेसले महाकाली नदी तर्ने क्रममा भारतीय पक्षबाट तुइन काटिदिएपछि नेपाली युवक बेपत्ता भएको घटनालाई दुःखद्, अमानवीय र आपत्तिजनक भनेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति जारी गरी घटनाको सम्पूर्ण वास्तविकता सार्वजनिक गर्न, भारतीय पक्षसँग यसबारेमा संवाद गर्न र आफ्ना नागरिकलाई न्याय दिलाउन सरकारसँग माग गर्नुभएको छ ।

महाकालीमा मात्रै ११ वटा तुइन

२०७२ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेकै दिन दुई वर्षभित्र तुइनमुक्त देश बनाउने घोषणा गर्नुभएको थियो । विडम्बना, दार्चुलाका बासिन्दाको जीवन अहिले पनि तुइनमै छ । गत जेठमा सार्वजनिक आर्थिक सर्वेक्षणअनुसार अझै १४ वटा तुइन सञ्चालनमा छन् ।

महाकाली पारि जाने ११ वटा तुइन विस्थापन गर्न नेपालले प्रस्ताव गरे पनि भारतले चार ठाउँमा मात्र सहमति दिएको थियो । सुरक्षा संवेदनशील क्षेत्र भन्दै भारतले व्यास गाउँपालिकाको वडा २ मालघाट, वडा ४ मल्घट्या र वडा ६ को बडूगाउँ तथा मालिकार्जुन गाउँपालिका–६ को बाकुमा झोलुङ्गे पुल बनाउन अनुमति दिएको थियो । बडूगाउँको पुल निर्माण अन्तिम चरणमा पुगेको र बाकुमा आधाजति पुल निर्माण भएको छ । मल्घट्यामा २० प्रतिशत पनि काम भएको छैन ।शुक्रबार घटना भएको मालघाटमा शिलान्यासपछि कामै रोकिएको छ ।

मालघाट पुल ठेक्का पाएका एमाले नेता धनबहादुर कुँवरमाथि प्रशासनले कुनै कारबाही गरेको छैन । ‘बजेट आयो, ठेक्का पनि लाग्यो तर शिलान्यासपछि कुनै काम भएको छैन,’ स्थानीय नरेन्द्रसिंह धामीले भन्नुभयो । कान्तिपुर अनलाईन

Facebook Comments