Fri. Sep 20th, 2024

विद्यासुन्दर शाक्य भन्नुहुन्छ: “आउने चुनावमा पनि भित्तेलेखन गर्न दिन्नौं”

काठमाडौं, २०७८ असार २२ गते मंगलबार । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरपालिकाले बनाएको कानुन-नीति र सर्वोच्च अदालतको फैसलालाई सबैले पालना गर्नुपर्ने बताउनुभएको छ । नगर सभाको नवौँ अधिवेशनको पाँचौँ बैठकपछि कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

‘हामी नीति बाहिर जानुहुन्न’, शाक्यले भन्नुभयो, ‘सर्वोच्च अदालतको फैसला र महानगरपालिकाको कानुन-नीतिलाई उल्लङ्घन गर्न पाइन्न । जे नीति छ, त्यही नीति कार्यान्वयनमा लाग्नुपर्छ ।’

शाक्यले ‘कोभिड फ्रन्टलाइनर’ को सम्मानमा बनाइएका भित्तेचित्र मेयरले मेटायो भनेर बढी नै प्रचार गरेको बताउनुभयो । ‘कार्टुन बनाएर मेरो प्रचार गरियो । उहाँहरूलाई व्यक्तिगत रूपमा धन्यवाद’, शाक्यले भन्नुभयो, ‘तर सर्वोच्चको आदेश र महानगरपालिकाको कानुन-नीति उल्लङ्घन गरी जथाभाबी भित्तेचित्र कोर्न पाइन्न ।’

मेयर शाक्यले सकारात्मक सुझाव ग्रहण गर्न तयार रहेको पनि बताउनुभयो । ‘सकारात्मक सुझाव ग्रहण गर्न तयार छु’, उहाँले भन्नुभयो, ‘सर्वोच्च अदालतले २०७२ सालमै सहरका घर, पर्खाल, बिजुलीको पोल लगायतमा रहेका पर्चा, पम्पलेट, भित्तेलेखन, होडिङ बोर्ड, विज्ञापन बोर्ड हटाउन र थप राख्न नदिन आदेश दिएको स्मरण गराउन चाहन्छु । त्यसैले मेयरलाई देखाइ दिन्छौँ भनेर नीति-नियमको उल्लङ्घन गरी योजनाबद्ध ढङ्गले अघि बढ्ने हो भने कोही पनि लक्ष्यमा पुग्न सक्दैनौँ ।’

२०७२ भदौ १६ गते सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले महानगर क्षेत्रका होडिङ बोर्डहरू, भित्ते लेखन, पोस्टर, पम्पेट लगायतका सामग्री हटाउन आदेश दिएको थियो । महानगरपालिकाको निर्देशिका र विज्ञापन नीतिले पनि विज्ञापन तथा प्रचार सामग्री भित्तेलेखनमा रोक लगाएको छ ।

‘सर्वोच्चको आदेशलाई कार्यान्वयन गर्दै विगतमा पनि त्यस्ता सागम्री हटाउने कार्य गरेको स्मरण गराउन चाहन्छु’, मेयर शाक्यले भन्नुभयो, ‘पैसा तिरेर विज्ञापन राख्छौँ भन्दा पनि हामीले सर्वोेच्चको आदेश र महानगरपालिकाको नीति पालना गर्दै त्यसो गर्न नदिएको हो । त्यसबाट आयस्रोत त हुन्थ्यो नि ? हामीले नीति छैन भनेर दिएनौँ । त्यसैले सर्वोेच्चको आदेश र महानगरको नीति मेयर, उपयमेरले मात्रै होइन वडाध्यक्ष, सदस्य, कर्मचारी सबैले मान्नुपर्छ ।’

उहाँले यसअघि पनि दरबार हाइस्कुल, त्रिचन्द्र कलेज, वीर अस्पताल अगाडि, नेशनल ट्रेडिङ लगायतका ठाउँमा भित्तामा लेखिएका सामग्री हटाएको जानकारी दिनुभयो । ‘नीति सबैका लागि बराबर हुन्छ’, शाक्यले भन्नुभयो, ‘पहिलो पटक रत्नपार्कको भित्तेचित्र मेटाएको जसरी प्रचार भइरहेको छ । त्यो होइन, निषेध गरिएका अन्य ठाउँमा पनि अनुमति नलिइ बनाएका त्यस्ता सामग्री हटाएका छौँ ।’ उज्यालो अनलाईन

Facebook Comments