Sun. Apr 28th, 2024

चीनमा भेटिएको नयाँ मानव प्रजातिको खप्परले वैज्ञानिकहरू उत्साहित

KAI GENG

काठमाडौं, २०७८ असार १३ गते आईतबार । चिनियाँ वैज्ञानिकहरूले बिलकुलै नयाँ प्रजातिको मानवको हुनसक्ने प्राचीन खप्पर सार्वजनिक गरेका छन्।

वैज्ञानिक टोलीले यो प्रजाति आधुनिक मानवको हालसम्म थाहा भएका नीयान्डर्टाल र होमो इरेक्टसजस्ता आदिम मानवभन्दा नजिकको पुर्खा भएको दाबी गरेको छ।

KAI GENG

ड्रागन म्यान उपनाम दिइएको खप्पर पूर्वी एशियामा कम्तीमा १,४६,००० वर्षअघि जीवित रहेको मानव प्रजातिको भएको बताइएको छ।

सो खप्पर उत्तर-पूर्वी चीनको हार्बिनमा सन् १९३३ मै भेटिएको भए पनि वैज्ञानिकहरूले हालै मात्र पत्ता पाएका हुन्।

सो खप्परको विश्लेषण द इनोभेसन जर्नलमा प्रकाशित भएको छ। यूकेका मानव विकासविज्ञ प्राध्यापक क्रिस स्ट्रीङ्गर चिनियाँ खप्पर अध्ययन टोलीका एक सदस्य हुनुहुन्थ्यो ।
“गएको दश लाख वर्षको जीवावशेषको सम्बन्धमा यो अहिलेसम्म पत्ता लागेको सबैभन्दा महत्त्वपूर्णमध्ये एक हो,” उहाँले बीबीसी न्यूजलाई भन्नुभयो।

“हामीले भेटेको कुरा मानव जातिको एउटा यस्तो हाँगो हो जुन होमो सेपियन्स (आधुनिक मानव) बन्ने लहरमा थिएन तर यो क्षेत्रमा हजारौँ वर्ष जीवित रहेर अन्ततः लोप हुन पुग्यो।”

अध्ययनकर्ताहरूका अनुसार यो खोजले मानव विकास इतिहासको पुनर्लेखन गर्न सक्ने सम्भावना बोकेको छ। उनीहरूको विश्लेषणमा यो प्रजाति नीयान्डर्टालभन्दा नजिक आधुनिक मानव प्रजातिसँग देखिएको छ।

यो प्रजातिलाई उनीहरूले होमो लङ्गी नाम दिएका छन्। चिनियाँ भाषामा लङ्को अर्थ ड्रागन हुन्छ। “हामीले लुप्त भएको एउटा हाँगो भेटेका छौँ,” चिनियाँ वैज्ञानिक सिजुङ् नीले भन्नुभयो।

“यो यति राम्रो अवस्थामा भेटिएको कुरा विश्वासै गर्न सकिने थिएन। यो साँच्चै नै गजबको खोज हो।” यो खप्पर अन्य मानव प्रजातिको भन्दा ठूलो छ र यसको मस्तिष्क हाम्रो प्रजातिको आकारको छ।

ड्रागन म्यानको ठुलो र झन्डै चारकुने परेको आँखा, बाक्लो आँखीभौँ, चौडा मुख र ठूलो दाँत भएको देखिन्छ। वैज्ञानिकहरूले ड्रागन म्यान बलिष्ठ भएको अनुमान गरेका छन्।

तर सो खप्पर पत्ता लागेको स्थानबाट हटाइएको भएका कारण यसका हतियार वा संस्कृतिका अन्य सामान पत्ता लागेका छैनन्। यो खप्पर सन् १९३३ मा सोङ्हुवा नदीमाथि पुल बनाउन खटिएका एक ज्यामीले भेट्टाएको बताइएको छ। बिबिसी

Facebook Comments