Fri. Sep 20th, 2024

प्रधानमन्त्री भन्नुहुन्छ, “उपचारमा कुनै किसिमको ढिलाई गर्ने छुट कसैलाई छैन”

- कोभिड-१९ निर्देशक समितिकाे पहिलाे बैठक सम्पन्न

काठमाडौं, २०७८ जेठ ११ गते मंगलबार । प्रधानमन्त्री एवं कोभिड-१९ निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीले कोभिड-१९ विरुद्धको लडाई जित्न उपलब्ध स्वास्थ्य सेवालाई चुस्त दुरुस्त बनाउँदै खोपको समुचित व्यवस्था गर्नेतर्फ ध्यान केन्द्रित गर्न सम्बद्ध निकायहरुलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार सम्पन्न समितिको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उपचारमा कुनै किसिमको ढिलाई गर्ने छुट कसैलाई नभएको समेत बताउनुभयो ।

यसका जुनसुकै देशबाट भए पनि प्रमाणित, प्रभावकारी र ढुवानी सहज गर्न सकिने खोपहरुका लागि पहल गर्न परराष्ट्र तथा स्वास्थ्य मन्त्रालय र केन्द्रका प्रमुखलाई विशेष निर्देशन उहाँले दिनुभयो । ‘खोप ल्याउन सकियो भने कोभिड विरुद्धको लडाई जितिन्छ । अन्यथा लडाई गरिरहनु पर्ने भयो ’, उहाँले भन्नुभयो ।

सरकारले हालै ल्याएको कोभिड-१९ सम्बन्धी अध्यादेश बमोजिम गठित कोभिड-१९ संकट व्यवस्थापन केन्द्रलाई आवश्यक जनशक्ति र संसाधन सरकारले तत्कालै उपलब्ध गराउने समेत बताउनुभयो । यसका साथै प्रधानमन्त्रीले केन्द्रबाट संक्रमणको सम्पूर्ण तथ्य तथ्यांक हासिल गरी उपचार सेवाको अवस्था चिकित्सा कर्मी र स्वास्थ्य उपकरणको उपलब्धता बारे अध्यावधिक जानकारी लिने र कमी भएका स्थानमा आपूर्ति गर्नका लागि संयोजन हुनुपर्ने समेत बताउनुभयो ।

‘पालिका पालिकासम्म समन्वय गरी कति संक्रमित छन्, होम आइसोलेशनमा कति बसेका छन् ?कति जँचाउन आएका छन् कति आएका छैनन् तिनको अवस्था के छ भन्ने सम्मको पूर्ण जानकारी देखि हामीसँग सिरिन्जसम्म कति छ भन्ने कुराको जानकारी लिएर कुनै कुराको पनि अभाव हुन नपाओस् भन्नेतर्फ ध्यान दिनुपर्छ‘ , उहाँले भन्नुभयो ।

उपकरण र संशाधनको तत्काल आपूर्तिका लागि केन्द्र र स्वास्थ्य मन्त्रालयको खरिद युनिटबीच समन्वय हुनेपर्ने पनि प्रधानमन्त्रीले बताउनुभयो ।

विगतमा अक्सिजनको आपूर्तिलाई सरकारले विमानबाट सिलिण्डर मगाएर समेत उच्च महत्व दिएको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो । अहिले विभिन्न मित्र राष्ट्रहरुबाट अक्सिजन सिलिण्डर मात्र नभई अक्सिजन प्लान्ट जहाजकै बाटोबाट ल्याउने, लिक्वीड अक्जिजन सिलिन्डर कै व्यवस्था गर्न पनि सरकार लागिपरेको उल्लेख गर्नुभयो ।

यसबाट अक्सिजनको आपूर्तिमा दोस्रो लहरको सुरुवाती अवस्था भन्दा अहिले उल्लेख्य सुधार आएकोसमेत प्रधानमन्त्रीले बताउनुभयो ।

यसका साथै प्रधानमन्त्रीले कतिपय स्वास्थ्य संस्थामा आवश्यक नभएको उपकरण र संशाधन रहेको, उपकरण भए पनि सञ्चालन गर्ने दक्ष जनशक्ति नभएको जस्ता समस्या तर्फ पनि ध्यान दिनुपर्ने बताउनुभयो । गोरखापत्र अनलाईन

Facebook Comments