Fri. Sep 20th, 2024

१७ बुँदे प्रस्ताव पारित गर्दै नेपाल-खनाल समूहको भेला सकियो

काठमाडौं, २०७७ चैत ५ गते बिहीबार १७ बुँदे प्रस्ताव पारित गर्दै नेपाल कम्युनिस्ट पार्टी एमालेको माधवकुमार नेपाल-झलनाथ खनाल समूहको राष्ट्रिय भेला सकिएको छ । देशभरका दुई हजार नेता तथा कार्यकर्ताको उपस्थितिमा ललितपुरको एक पार्टी प्यालेसमा बुधवार र बिहीवार (हिजो र आज) भएको भेलाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको एकलौटी र मनपरीको विरोध गर्ने र पार्टीलाई फेरि एकताबद्ध बनाउने प्रस्ताव पारित गरेको हो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको विधान विपरीतका कुनै पनि निर्णय नमान्ने र धम्कीपूर्ण भाषा नबोल्न पनि भेलाले पार्टी अध्यक्ष ओलीलाई सचेत गराएको नेता विष्णु रिजालले जानकारी दिनुभयो ।ओलीले गुटका मान्छे च्यापेर एमालेलाई विभाजन गर्ने र अन्त्यमा कम्युनिस्ट आन्दोलनलाई नै समाप्त पार्ने गतिविधि गरेकाले त्यसको प्रतिरोध गर्ने पनि भेलाले निष्कर्ष निकालेको छ ।

भेलाले पार्टी अध्यक्ष केपी शर्मा ओली २०७१ सालमा सम्पन्न भएको नवौँ महाधिवेशनले लिएको नागरिककाे बहुदलीय जनवादको कार्यक्रम अनुरूप अगाडि बढ्न नसकेको आरोप लगाएको छ । प्रतिनिधि सभा विघटन गर्ने ओलीको कदम उल्ट्याइदिएकोमा सर्वोच्च अदालतलाई धन्यवाद दिने तर नेकपा विभाजन गरेर एमाले र माओवादी बिउँताउने राजनीतिक फैसलाप्रति भने असहमति राख्ने भेलाको निर्णय छ ।

राष्ट्रिय भेलामा उपस्थित नेताहरूले अध्यक्ष केपी शर्मा ओलीले कार्यशैली सुधार गरी पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन् । नेताहरूले अध्यक्ष केपी शर्मा ओलीले गुटगत मानसिकता त्यागेर पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन् ।

यस्तै ओली प्रधानमन्त्री हुँदा भएका देशहित विरुद्धका सन्धि-सम्झौता खारेज गर्न पनि नेपाल-खनाल समूहको भेलाले माग गरेको छ । उज्यालो अनलाईन

Facebook Comments