महिला सशक्तीकरण गर्न सबै एक भएर लाग्न प्रधानमन्त्रीको आग्रह
काठमाडौं, २०७७ फागुन २४ गते सोमबार
प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी महिलाविरुद्ध हुने हिंसा अन्त्य गर्न तथा महिला सशक्तीकरण गर्ने सरकारको अभियानमा सबै एक भएर लाग्न आग्रह गर्नु भएको छ । १११ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रधानमन्त्रीले शुभकामना व्यक्त गर्दै सम्पुर्ण नेपालीलाई आग्रह गर्नु भएको हो ।
प्रधानमन्त्रीले नेपालको राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणमा महिलाहरुको सहभागिता र नेतृत्व विश्वकै लागि अनुकरणीय रहँदै आएको बताउनु भयो । ऐतिहासिक जनआन्दोलन लगायतका परिवर्तनका सबै आन्दोलनहरुमा नेपाली महिलाहरुले अग्रमोर्चामा रहेर नेतृत्व गरेको तथ्य नेपाली राजनीतिक इतिहासमा स्वर्णाक्षरले लेखिएको उहाँले बताउनुभयो ।
देशको विकासका लागि जनसंख्याको आधाभन्दा बढी भाग ओगट्ने महिला दिदीबहिनीहरुको समान सहभागिता अत्यन्त जरुरी रहेको प्रधानमन्त्रीले औँल्याउनु भयो ।
नेपालको लैङ्गिक विकास सूचकाङ्कमा भएको सुधारबाट पनि यस क्षेत्रमा नेपाल सरकारले गरेको लगानी र थालेको प्रयासले राम्रो प्रतिफल दिएको प्रधानमन्त्रीको भनाई छ ।