Sat. Sep 21st, 2024

नेकपा विप्लव समूहसँग दुई चरणको वार्ता सम्पन्न, वार्ता सकारात्मक दिशातर्फ उन्मुख

काठमाडौं, २०७७ फागुन १९ गते बुधबार

नेकपा विप्लव समूह र सरकारबीच एकै दिन दुई चरणको वार्ता भएको छ । सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले दोस्रो चरणको वार्ता बुधबार साँझ भएको बताउनु भएको हो ।

यसअघि बुधबार विहान प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा पहिलो चरणको वार्ता भएको थियो । दोस्रो चरणको वार्ता पनि बालुवाटारमा नै भएको हो । वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको सरकारी वार्ता टोलीका सदस्य डा राजन भट्टराईले जानकारी दिनुभयो ।

सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र चन्द समूहका तर्फबाट खड्गबहादुर विश्वकर्माका संयोजकत्वमा मङ्गलबार अलगअलग वार्ता समिति सार्वजनिक भएको थियो । हिंसात्मक गतिविधिमा प्रतिबन्ध लगाइएको सो समूह राष्ट्र, राष्ट्रियता र जनजीविकाका विषयमा वार्ता र संवाद गर्न तयार भएपछि वार्ता प्रक्रिया अघि बढेको हो ।

विप्लव समूह विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको भन्दै सरकारले २०७५ सालको फागुन २८ गतेदेखि विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो ।

Facebook Comments