Sat. Sep 21st, 2024

प्रतिनिधिसभा बैठक कक्षको सभामुखद्वारा अवलोकन, अधिवेशनलाई स्वभाविक लयमा सञ्चालन गर्ने प्रतिबद्धता

काठमाडौं, २०७७ फागुन १९ गते बुधबार

प्रतिनिधिसभाको बैठक यही फागुन २३ गते बस्ने भएपछि सभामुख अग्निप्रसाद सापकोटाले तयारीको बारेमा आज जानकारी लिनुभएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वर पुगेर सभामुख सापकोटाले बैठकको तयारी, सभाकक्षको अवस्थालगायतका विषयमा आवश्यक जानकारी लिनुभएको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही फागुन २३ गते अपराह्न ४ बजे प्रतिनिधिसभाको बैठक आह्वान गर्नुभएको छ । सो अवसरमा सभामुख सापकोटाले प्रतिनिधिसभाको बैठकअघि विभिन्न दलका नेता र कार्यव्यवस्था परामर्श समितिमा छलफल गर्ने जानकारी दिनुभयो । उहाँले सम्बद्ध सबै पक्षसँग छलफल गरेर बैठकलाई अगाडि बढाउने बताउनुभयो ।

सर्वोच्च अदालतको फैसलालाई जनप्रतिनिधिमूलक संस्थाको सर्वोच्च निकायको तर्फबाट खुशी र गौरवको विषय भन्दै उहाँले संसद् अधिवेशनलाई स्वभाविक लयमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । केही समय संसद् अवरुद्ध भएकाले खल्लो महसुस भए पनि अहिले सबैमा उत्साह जागेको उल्लेख गर्नुभयो ।

सो अवसरमा सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतम, सङ्घीय संसद् सचिवालयका कर्मचारी एवं सञ्चारकर्मीको उपस्थिति थियो । प्रतिनिधि सभा बैठकको पूर्वसन्ध्यामा बुधबारदेखि शुक्रबारसम्म सङ्घीय संसद्का सबै सांसद तथा कर्मचारीलाई कोरोनाविरुद्धको खोप लगाउने तयारीसमेत गरिएको छ ।

Facebook Comments