घोप्टेभिरमा सडक खुल्यो, तुइनखोलामा दैनिक पाँच घण्टा बन्द हुने शनिबार, मंसिर १२, २०८३
- मङ्सिर ५ गतेदेखि बन्द हुँदै आएको घोप्टेभिर सडक आज साँझ ५ बजेदेखि पूर्ण सञ्चालनमा ।
- नारायणगढ-मुग्लिन सडक मङ्सिर १३ गतेदेखि दैनिक पाँच घण्टा बन्द हुने ।
- तुइनखोलामा पहिरो काट्ने र जोखिमयुक्त भाग हटाउने काम गरिने ।
नारायणगढ (चितवन) । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-नौबिसे सडकखण्डको घोप्टेभिरमा आज साँझ ५ बजेदेखि सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ । गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो । पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा सडक सम्याउने काम सम्पन्न भएसँगै सडक सञ्चालनमा आएको हो ।
पहिरो प्रभावित घोप्टेभिरमा सडक व्यवस्थापन तथा यातायात आवागमन सहज बनाउन प्रहरी टोली अहिले पनि निरन्तर खटिएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक डिल्लीबहादुर खड्काले प्रहरी टोली सवारी आवागमन व्यवस्थापन, यात्रुको सुरक्षा तथा सम्भावित जोखिम न्यूनीकरणमा सक्रिय रहेको बताउनुभयो । घोप्टेभिरमा सडक सञ्चालनमा आएसँगै पृथ्वी राजमार्गको मुग्लिन-पोखरा तथा मुग्लिन–काठमाडौँ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आएका छन् ।
यसैबीच, नारायणगढ-मुग्लिन सडकखण्ड भने भोलि मङ्सिर १३ गतेदेखि अर्को सूचना जारी नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द हुने भएको छ । सडकखण्डको तुइनखोलामा पहिरो काट्ने तथा जोखिमयुक्त भाग हटाउने काम गर्नुपर्ने भएकाले सवारी आवागमन रोकेर काम गर्न लागिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । सडक बन्द हुँदा दिउँसो चितवनबाट काठमाडौँ तथा पोखरा आवतजावत गर्ने यात्रु प्रभावित हुनेछन् । रासस

