म्यान्मामा विवाह समारोहको तयारी भइरहेको घरमा सैन्य हवाई आक्रमण, १७ जनाको मृत्यु भएको आशङ्का
- म्यान्माको मोए बाइस्थित गाउँमा विवाहको तयारी भइरहेको घरमा हवाई आक्रमण ।
- आक्रमणमा कम्तीमा छ जनाको मृत्यु, १७ जनासम्मको ज्यान गएको हुन सक्ने आशङ्का ।
- सन् २०२१ को सैन्य कूपछि म्यान्मामा गृहयुद्ध जारी ।
म्यान्मा । म्यान्माको सेनाले द्वन्द्वग्रस्त क्षेत्रमा विवाह समारोहको तयारी भइरहेको घरमा हवाई आक्रमण गर्दा कम्तीमा छ जनाको मृत्यु भएको छ । घटनामा मृत्यु हुनेको सङ्ख्या १७ सम्म पुगेको हुन सक्ने एक प्रत्यक्षदर्शीले बताएका छन् ।
शनिबार शान र कायाह राज्यको सीमावर्ती क्षेत्र मोए बाइस्थित एक गाउँमा उक्त आक्रमण भएको हो । आक्रमणमा विस्थापित दुई व्यक्तिको विवाहका लागि तयारी भइरहेको घरलाई निशाना बनाइएको प्रत्यक्षदर्शीले बताएका छन् ।
उनका अनुसार विमान उडेको आवाज सुने पनि आफ्नो क्षेत्रमा बमबारी नहुने ठानेका थिए । केही समयपछि ठूलो विस्फोट भएको र घटनास्थलबाट धुवाँ निस्किएको उनले बताए ।
उद्धारका लागि घटनास्थल पुगेका उनले १७ वटा शव देखेको र धेरै मानिस घाइते भएको जानकारी दिए । स्थानीयले उपलब्ध गराएका तस्बिरमा महिला र बालकसहित कम्तीमा छ वटा शव देखिएका छन् । यद्यपि, एएफपीले तस्बिर तथा भिडियोको स्वतन्त्र पुष्टि गर्न सकेको छैन ।
घटनाबारे म्यान्माको सेनाको प्रतिक्रिया प्राप्त हुन सकेको छैन । सन् २०२१ को सैन्य कूपछि म्यान्मामा गृहयुद्ध जारी छ । एसीएलईडीका अनुसार द्वन्द्वमा एक लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । एएफपी

