२०८३ मंसिर ९, बुधवार

‘अनुसन्धान र नवप्रवर्तनमा लगानी वृद्धि सरकारको प्राथमिकता हो’   

       

काठमाण्डू । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले अनुसन्धान र नवप्रवर्तनमा लगानी बढाउन हरसम्भव प्रयत्न गरिरहेको बताउनुभएको छ ।

यहाँस्थित इजरायली राजदूतावासमा मङ्गलबार अपराह्न ‘इजरायल साइबर तथा कृत्रिम बौद्धिकता’ विषयमा आयोजित कार्यक्रममा उहाँले वर्तमान सरकारले नवप्रवर्तन र अनुसन्धानलाई उच्च प्राथमिकता दिएर बेग्लै मन्त्रालयसमेत स्थापना गरेको बताउनुभयो ।

“ सम्माननीय प्रधानमन्त्री अनुसन्धान र नवप्रवर्तनका माध्यमबाट नै राष्ट्रलाई समृद्धिको मार्गमा अग्रसर गराउनुपर्छ भन्नेमा दृढ हुनुहुन्छ,” सरकारले पहिलोपटक पुँजीगत खर्चको एक प्रतिशत रकम अनुसन्धान तथा नवप्रवर्तनका लागि छुट्याएको जानकारी दिँदै मन्त्री पुनले भन्नुभयो ।

कृत्रिम बौद्धिकता, साइबर सुरक्षा, ड्रोन, कृषि तथा जैविक चिकित्सा इन्जिनियरिङलगायत क्षेत्रमा नवप्रवर्तन केन्द्र स्थापना गर्ने योजना सरकारको रहेको उहाँले बताउनुभयो ।

नेपालका लागि इजरायली राजदूत श्मुलिक एरी बासले साइबर सुरक्षा र कृत्रिम बौद्धिकता क्षेत्रमा इजरायलले हासिल गरेको अनुभव प्रस्तुत गर्दै ज्ञान आदानप्रदान तथा संस्थागत साझेदारीमार्फत नेपालसँग प्रविधि र नवप्रवर्तनको क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको उक्त दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

त्यस अवसरमा चार सदस्यीय इजरायली प्रतिनिधिमण्डलले इजरायल-नेपाल सम्बन्धबारे चर्चा गर्दै कृत्रिम बौद्धिकता र नवप्रवर्तनका विविध आयामबारे जानकारी दिएको थियो । नेपालको भौगोलिक वनोट र अनुकूल मौसमका कारण नेपाललाई साइबर सुरक्षाको केन्द्रका रूपमा विकास गर्न सकिने प्रमण्डलको भनाइ थियो । रासस

Facebook Comments