२०८३ मंसिर ५, शनिवार

विपद् प्रभावित ५५० जना नेपाली विद्यार्थीलाई चिनियाँ राजदूत छात्रवृत्ति

छात्रवृत्ति सहयोग प्रदान गर्ने घोषणा गर्नुहुँदै चिनियाँ राजदूत माओ मिङ

       

भिओके समाचार/नुवाकोट । नेपालका लागि चिनियाँ राजदूत माओ मिङले बाढी तथा विपद्बाट प्रभावित नेपाली विद्यार्थीहरूको शैक्षिक निरन्तरताका लागि १ करोड १० लाख रुपैयाँ बराबरको छात्रवृत्ति सहयोग प्रदान गर्ने घोषणा गर्नुभएको छ।

राजदूत माओले शुक्रबार नुवाकोटको विदुर नगरपालिका–५, पिपलटारस्थित चन्द्रज्योति विद्यालयमा आयोजित एक समारोहबीच सन् २०२६ को ‘चिनियाँ राजदूत छात्रवृत्ति’ वितरण कार्यक्रमको पहिलो चरणमा उक्त जानकारी दिनुभएको हो।

राजदूत माओ मिङका अनुसार यस छात्रवृत्तिबाट नेपालभरका बाढी प्रभावित ५५० जना विद्यार्थी लाभान्वित हुनेछन्। पहिलो चरणमा नुवाकोटका ९९ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ।

राजदूत माओ मिङले विपद्बाट अत्यधिक प्रभावित अन्य दुई जिल्ला रसुवा र धादिङमा समेत यो कार्यक्रम विस्तार गरिने जानकारी दिनुभयो।

उहाँले छात्रवृत्ति कार्यक्रमले विपद्का कारण प्रभावित विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुर्‍याउनुका साथै उनीहरूको शैक्षिक यात्रालाई निरन्तरता दिन प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो।

“कुल १ करोड १० लाख नेपाली रुपैयाँ बराबरको यस छात्रवृत्तिबाट नेपालभरका बाढी प्रभावित ५५० विद्यार्थीहरू लाभान्वित हुनेछन्। मलाई आशा छ कि यो सहयोगले युवा विद्यार्थीहरूको सिकाइको मार्गलाई उज्यालो बनाउन मद्दत गर्नेछ,” उहाँले भन्नुभयो।

विपद्का कारण शैक्षिक तथा आर्थिक कठिनाइ भोगिरहेका विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिएको यो कार्यक्रमले प्रभावित परिवारलाई राहत पुर्‍याउनुका साथै नेपाल-चीनबीचको मैत्रीपूर्ण सम्बन्ध र शैक्षिक सहकार्यलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नेपाल र चीनबीचको शैक्षिक तथा साँस्कृतिक सम्बन्धलाई जनस्तरसम्म अभिवृद्धि गर्ने उद्धेश्यले स्थापना भएको नेपाल-चीन साँस्कृतिक तथा शैक्षिक परिषद् र शिक्षा मन्त्रालयको समन्वयमा सो छात्रवृत्ति प्रदान गरिएको परिषद्का अध्यक्ष डा. हरिश्चन्द्र शाहले जानकारी दिनुभएको छ ।

Facebook Comments