चिराइतोको मूल्य घटेपछि किसान चिन्तित
भोजपुर । भोजपुरमा चिराइतोको मूल्य घटेपछि किसान तथा व्यवसायी चिन्तित बनेका छन् । गत वर्षको तुलनामा यस वर्ष चिराइतोको मूल्यमा गिरावट आएपछि किसान चिन्तामा परेका हुन् ।
टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका स्थानीय किसान तथा व्यवसायी उपेन्द्र राउतका अनुसार अहिले चिराइतो प्रतिमन (४० केजी) रु २० हजारका दरले कारोबार भइरहेको छ । गत वर्ष यही समयमा चिराइतो प्रतिमन रु २५ हजारदेखि रु ३० हजारसम्ममा बिक्री हुने गरेको उहाँले बताउनुभयो । गत वर्षको तुलनामा यस वर्ष प्रतिमन रु पाँच हजारदेखि रु १० हजारसम्म मूल्य घटेको उहाँको भनाइ छ ।
उहाँका अनुसार यस वर्ष चिराइतोको उत्पादन भने बढेको छ । टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा क्षेत्रमा मात्रै करिब ५०० मन चिराइतो उत्पादन भएको उहाँले जानकारी दिनुभयो । उत्पादन बढे पनि बजार मूल्य घटेकाले किसानले अपेक्षाअनुसार आम्दानी लिन नसकेको उहाँको भनाइ छ ।
यस वर्ष हालसम्म आफूले करिब २०० मन चिराइतो सङ्कलन गरिसकेको उहाँले बताउनुभयो । आफ्नै घरमासमेत बिक्रीका लागि करिब १० मन चिराइतो रहेको राउतले बताउनुभयो । उत्पादन भएको चिराइतो बजारमा बिक्री गर्न तयार भए पनि उचित मूल्य नपाउँदा किसानले अपेक्षित लाभ लिन नसकेको उहाँले बताउनुभयो ।
चीनतर्फको नाका बन्द हुँदा चिराइतोको निकासी तथा बजार कारोबार प्रभावित भएकाले यस वर्ष मूल्य घटेको राउतको भनाइ छ । राउतका अनुसार चिराइतोको बजार माग र बिक्रीको अवस्थाले किसानले पाउने मूल्य निर्धारणमा प्रभाव पार्ने गरेको छ । बजार सहज नहुँदा उत्पादन बढेको अवस्थामासमेत किसानले राम्रो मूल्य पाउन नसक्ने समस्या रहेको उहाँले बताउनुभयो ।
चिराइतो भोजपुरका पहाडी तथा उच्च पहाडी क्षेत्रमा उत्पादन हुने महत्वपूर्ण जडीबुटीजन्य नगदे बाली हो । यहाँका किसानले व्यावसायिक खेतीसँगै प्राकृतिक रूपमा उम्रिएका चिराइतो सङ्कलन गरेर बिक्री गर्ने गरेका छन् । विशेषगरी ग्रामीण क्षेत्रका किसानका लागि चिराइतो आम्दानीको महत्वपूर्ण स्रोत बन्दै आएको छ ।
चिराइतोखेती तथा सङ्कलनबाट किसानले खेतीपातीबाहेक अतिरिक्त आम्दानी गर्दै आएका छन् । यसको उत्पादन, सङ्कलन, ओसारपसार र बिक्रीमा स्थानीय व्यवसायीसमेत संलग्न छन् । तर बजार मूल्यमा हुने उतारचढाव तथा निकासीमा देखिने समस्याले किसानको आम्दानीमा प्रत्यक्ष असर पार्ने गरेको छ ।
स्थानीय किसानले चिराइतोको बजार व्यवस्थापन र उचित मूल्य प्राप्त हुने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । उत्पादनअनुसार बजारको व्यवस्था हुन सके चिराइतोखेतीबाट ग्रामीण क्षेत्रमा अझ आम्दानी बढाउन सकिने किसानहरुको भनाइ छ । रासस

