२०८३ मंसिर ५, शनिवार

सी चिनफिङको एपीईसी सम्बोधनले एसिया-प्रशान्त क्षेत्रको समृद्धिको नयाँ अध्यायप्रति आशा जगायो

       

‘खुलापन र सहकार्यबाट हासिल भएको आर्थिक वृद्धिको कथा नै विगत तीन दशकभन्दा बढी समयको एसिया–प्रशान्त क्षेत्रको चमत्कार थियो भने आगामी ३० वर्ष समावेशिता र सबैको हितमा आधारित सहकार्यमार्फत साझा समृद्धि हासिल गर्ने कथा बन्नुपर्छ।’ दक्षिण कोरियाली सांसद किम ते-न्योङले भन्नुभयो।

डिजिटल अर्थतन्त्र, स्वच्छ ऊर्जा र साना तथा मझौला उद्यमबीचको सहकार्यमा केन्द्रित संस्थागत संयन्त्र स्थापना गर्ने चीनको प्रस्ताव अत्यन्त महत्त्वपूर्ण रहेको र यसले एसिया–प्रशान्त क्षेत्रमा आर्थिक वृद्धिका नयाँ आधार तयार पार्न महत्त्वपूर्ण भूमिका खेल्ने रुसी–एसियाली उद्योगपति तथा उद्यमी सङ्घका अध्यक्ष भिटाली मान्केभिचले बताउनुभयो।

क्वालालम्पुरस्थित मलेसिया–चीन व्यापार परिषद्का प्रमुख सञ्चालन अधिकृत जर्जी तु हान ह्वेईले चीन डिजिटल अर्थतन्त्र, स्वच्छ ऊर्जा र साना तथा मझौला उद्यमको विकासमा सक्रिय रूपमा संलग्न मात्र नभई यी क्षेत्रमा व्यापक अनुभवसमेत हासिल गरिसकेको बताउनुभयो। चीनले आफ्नो विकास अनुभवलाई अहिले क्षेत्रीय साझा विकास प्रवर्द्धन गर्ने ठोस कार्यमा रूपान्तरण गरिरहेको उहाँको भनाइ छ।

शनचन (चीन) । चीनका राष्ट्रपति सी चिनफिङले बिहीबार चीनको शेन्जेनमा आयोजित एसिया–प्रशान्त आर्थिक सहयोग (एपीईसी) का सदस्य अर्थतन्त्रका नेताहरूको ३३औँ बैठकको अध्यक्षता गर्दै एसिया–प्रशान्त समुदाय निर्माणका लागि थप प्रयास गर्न र यस क्षेत्रको आर्थिक चमत्कारको नयाँ अध्याय लेख्न आह्वान गर्नुभएको छ।

विज्ञहरूले राष्ट्रपति सीको सम्बोधनले अझ सशक्त र एकीकृत एसिया–प्रशान्त समुदाय निर्माण गर्ने चीनको दृष्टिकोण प्रस्तुत गरेको बताएका छन्। यसले विगत तीन दशकका उपलब्धिलाई आधार बनाएर क्षेत्रीय विकासलाई नयाँ उचाइमा पुर्‍याउने मार्गचित्रसमेत प्रदान गरेको उनीहरूको भनाइ छ।

उनीहरूका अनुसार यस सम्बोधनले क्षेत्रीय सहकार्यलाई थप गहिरो बनाउन, साझा विकासका नयाँ अवसर सिर्जना गर्न तथा एसिया–प्रशान्त क्षेत्र र त्यसबाहिर शान्ति, स्थायित्व र समृद्धिमा योगदान पुर्‍याउन मद्दत गर्नेछ।

साझा दृष्टिकोण

बिहीबारको सम्बोधनमा राष्ट्रपति सीले एसिया–प्रशान्त समुदाय निर्माणका लागि एकता र पारस्परिक सहयोग, खुलापन र एकीकरण, उद्यमशीलता र नवप्रवर्तन तथा समावेशी विकास आवश्यक रहेकोमा जोड दिनुभयो।

न्युजिल्यान्डको अकल्यान्ड विश्वविद्यालयअन्तर्गत चीन अध्ययन केन्द्रका निर्देशक हर्बर्ट सिमाले यी आवश्यकताहरू एकअर्कासँग अन्तरसम्बन्धित र परिपूरक रहेको बताउनुभयो। उहाँका अनुसार यी सिद्धान्तले एसिया–प्रशान्त क्षेत्रमा आर्थिक सहकार्यका लागि मार्गदर्शन गर्नुका साथै विश्वव्यापी अनिश्चितताको सामना गर्न पनि महत्त्वपूर्ण दृष्टिकोण प्रदान गर्छन्।

विज्ञ सिमाका अनुसार एकता र पारस्परिक सहयोग सहकार्यको आधार हुन् भने खुलापन र सम्पर्क सञ्जाल विकासका माध्यम हुन्। नवप्रवर्तन र प्रगतिले आर्थिक वृद्धिलाई गति दिन्छन् भने समावेशी विकासले सहकार्यलाई दिगो बनाउँदै त्यसको लाभ सबै पक्षसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्छ।

आफ्नो सम्बोधनमा राष्ट्रपति सीले विगत तीन दशकभन्दा लामो अवधिमा एसिया–प्रशान्त क्षेत्रमा हासिल भएका आर्थिक उपलब्धिको समीक्षा गर्दै नयाँ अवसर र चुनौतीको सामना गर्न क्षेत्रीय सहकार्यलाई समयानुकूल बनाउने, नयाँ कदम चाल्ने र नयाँ सम्भावनाका ढोका खोल्ने आवश्यकतामा जोड दिनुभयो।

राष्ट्रपति सीको सम्बोधनले यस क्षेत्रको उल्लेखनीय आर्थिक वृद्धिका पछाडिका कारण र भविष्यको विकास सम्भावनाबारे विज्ञहरूलाई पुनः विचार गर्न प्रेरित गरेको छ।

जाकार्तास्थित थिङ्क ट्याङ्क संस्था पारा सिन्डिकेटका कार्यकारी निर्देशक विर्दिका रिज्की उतामाले एसिया–प्रशान्त क्षेत्रको आर्थिक चमत्कार खुला सहकार्य, व्यापार तथा लगानी र क्षेत्रीय औद्योगिक एवं आपूर्ति शृङ्खलाको एकीकरणबाट सम्भव भएको बताउनुभयो।

एसिया–प्रशान्त समुदाय निर्माणसम्बन्धी राष्ट्रपति सीको जोडले यस क्षेत्रले सामना गरिरहेका चुनौतीको सम्बोधन गर्नुका साथै भविष्यको सहकार्यका लागि स्पष्ट दृष्टिकोण प्रस्तुत गरेको उहाँको भनाइ छ।

उहाँले विशेषगरी राष्ट्रपति सीले आफ्नो सम्बोधनमा उल्लेख गर्नुभएको ‘खुला क्षेत्रीयता’ (ओपन रिजनालिज्म) को अवधारणालाई महत्त्वपूर्ण मान्नुभएको छ। उहाँका अनुसार इन्डोनेसियाजस्ता विकासशील अर्थतन्त्रका लागि यस अवधारणाले फराकिला बजारमा पहुँच र सहज सम्पर्क सञ्जालको अवसर प्रदान गर्छ।

भियतनाम सामाजिक विज्ञान प्रतिष्ठानअन्तर्गत युरोपेली तथा अमेरिकी अध्ययन संस्थानकी अनुसन्धानकर्ता ट्रान थि हाई येनले राष्ट्रपति सीको दृष्टिकोण समयसापेक्ष रहेको बताउनुभयो। यसले एसिया–प्रशान्त क्षेत्रले अहिले सामना गरिरहेका चारवटा व्यावहारिक आवश्यकतालाई सम्बोधन गरेको उहाँको भनाइ छ।

यस वर्ष एपीईसीको घुम्ती अध्यक्षता गरिरहेको चीनले सहकार्यको दिशालाई थप स्पष्ट पार्नुका साथै संयुक्त प्रयासलाई तीव्रता दिनुपर्ने आवश्यकतामा जोड दिएको उहाँले बताउनुभयो। यसबाट दीर्घकालीन दृष्टिकोणलाई ठोस सहकार्यका कार्यसूचीमा रूपान्तरण गर्न सहयोग पुग्ने उहाँको भनाइ छ।

अर्थतन्त्रहरूले एकअर्कासँग व्यापार गरेर समृद्धि हासिल गर्न सक्छन् भन्ने कुरा इतिहासले प्रमाणित गरेको उल्लेख गर्दै अस्ट्रेलिया एपीईसी अध्ययन केन्द्रका निर्देशक क्रेग इमर्सनले राष्ट्रपति सीले व्यापारिक सहकार्य र खुला क्षेत्रीयताको महत्त्वलाई पुनः पुष्टि गर्नुभएको बताउनुभयो।

पूर्वअस्ट्रेलियाली व्यापारमन्त्रीसमेत रहनुभएका इमर्सनले पछिल्ला वर्षहरूमा व्यापार उदारीकरणप्रति शङ्का र असहमति बढिरहेका बेला राष्ट्रपति सीको यस्तो अभिव्यक्ति अत्यन्त उत्साहजनक रहेको बताउनुभयो।

दक्षिण कोरियाली सांसद किम ते–न्योङले भन्नुभयो, ‘खुलापन र सहकार्यबाट हासिल भएको आर्थिक वृद्धिको कथा नै विगत तीन दशकभन्दा बढी समयको एसिया–प्रशान्त क्षेत्रको चमत्कार थियो भने आगामी ३० वर्ष समावेशिता र सबैको हितमा आधारित सहकार्यमार्फत साझा समृद्धि हासिल गर्ने कथा बन्नुपर्छ।’

उहाँले एसिया–प्रशान्त क्षेत्रका अर्थतन्त्रहरू आर्थिक आकार, विकासको अवस्था, इतिहास र संस्कृतिका हिसाबले फरक–फरक रहेको उल्लेख गर्दै यस क्षेत्रको विविधतालाई महत्त्वपूर्ण स्रोतका रूपमा लिनुपर्ने बताउनुभयो।

उहाँले भन्नुभयो, ‘हामीले आ–आफ्ना सबल पक्षको उपयोग गर्नुपर्छ, एकअर्काका कमजोरीलाई परिपूरक बनाउनुपर्छ र यी भिन्नतालाई सहकार्यका नयाँ अवसरमा रूपान्तरण गर्नुपर्छ।’

साझा प्रयासबाट सहकार्यका आधारस्तम्भ निर्माण

राष्ट्रपति सीले आफ्नो सम्बोधनमा चीन एसिया–प्रशान्त आर्थिक सहकार्यको पक्षधर, प्रवर्द्धक र अग्रणी रहेको उल्लेख गर्दै एसिया–प्रशान्त समुदायका चार प्रमुख आधारस्तम्भ निर्माण गर्न सबै पक्षसँग मिलेर साझा बुद्धिमत्ता र सामूहिक शक्ति परिचालन गर्न चीन तयार रहेको बताउनुभयो।

उहाँले अर्थतन्त्र तथा व्यापारको आधारस्तम्भलाई सुदृढ बनाउने, सम्पर्क सञ्जालको आधारस्तम्भलाई स्तरोन्नति गर्ने, नवप्रवर्तनको आधारस्तम्भलाई प्रवर्द्धन गर्ने र विकासको आधारस्तम्भलाई थप सबल बनाउने आह्वान गर्नुभयो।

सम्पर्क सञ्जालको महत्त्वबारे चर्चा गर्दै चिलीस्थित एसिया–प्रशान्त वाणिज्य मण्डलका निर्देशक अल्भारो एचेभेरियाले वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिमा सम्पर्क सञ्जालको आधारस्तम्भलाई स्तरोन्नति गर्ने राष्ट्रपति सीको आह्वान विशेष सान्दर्भिक रहेको बताउनुभयो।

निकटता र सम्पर्कले पारस्परिक समझदारी विकास गर्न सहयोग पुर्‍याउने उहाँले सिन्ह्वासँग बताउनुभयो। भौतिक पूर्वाधारका साथै मानव विकास र जनस्तरको आपसी आदानप्रदानलाई निरन्तर प्रवर्द्धन गरेर सम्पर्क सञ्जाल सुदृढ गर्ने चीनको आह्वानको उहाँले स्वागत गर्नुभयो।

विश्वले ठूलो अनिश्चितता र अप्रत्याशित परिस्थितिको सामना गरिरहेको तथा अन्तर्राष्ट्रिय समन्वयको आवश्यकता बढिरहेको अवस्थामा यस्ता प्रयासले आपसी विश्वास पुनः स्थापित गर्न सहयोग पुर्‍याउने उहाँले बताउनुभयो।

राष्ट्रपति सीले चीन एसिया–प्रशान्त क्षेत्रमै अवस्थित रहेको र क्षेत्रीय सहकार्यलाई निरन्तर समर्थन गर्ने स्पष्ट पार्नुभयो। उहाँले एपीईसीको व्यावहारिक सहकार्यलाई सहयोग गर्न चीनले दुई करोड अमेरिकी डलर उपलब्ध गराउने घोषणा पनि गर्नुभयो।

यसका साथै नीतिगत अनुसन्धान, विचार आदानप्रदान र बौद्धिक सहयोग प्रदान गर्ने उद्देश्यले शेन्जेनमा ‘एसिया–प्रशान्त समुदाय अध्ययन केन्द्र’ स्थापना गरिने उहाँले जानकारी दिनुभयो।

एसिया–प्रशान्त क्षेत्रको सहकार्यको आवश्यकताअनुसार चीनले डिजिटल प्रविधि, सीमापार तथ्याङ्क प्रवाह, स्वच्छ ऊर्जा तथा साना र मझौला उद्यमको विकासजस्ता क्षेत्रमा सहकार्यका लागि संस्थागत संयन्त्र स्थापना गर्ने पनि राष्ट्रपति सीले घोषणा गर्नुभयो। यसबाट एसिया–प्रशान्त क्षेत्रमा नवप्रवर्तनमा आधारित तथा हरित आर्थिक वृद्धिलाई योगदान पुग्ने उहाँको भनाइ छ।

रुसी–एसियाली उद्योगपति तथा उद्यमी सङ्घका अध्यक्ष भिटाली मान्केभिचले डिजिटल अर्थतन्त्र, स्वच्छ ऊर्जा र साना तथा मझौला उद्यमबीचको सहकार्यमा केन्द्रित संस्थागत संयन्त्र स्थापना गर्ने चीनको प्रस्ताव अत्यन्त महत्त्वपूर्ण रहेको बताउनुभयो। यसले एसिया–प्रशान्त क्षेत्रमा आर्थिक वृद्धिका नयाँ आधार तयार पार्ने दिशामा महत्त्वपूर्ण कदमका रूपमा काम गर्ने उहाँको भनाइ छ।

उहाँले भन्नुभयो, ‘डिजिटल अर्थतन्त्र, स्वच्छ ऊर्जा र सम्बन्धित क्षेत्रमा विश्वमै अग्रणी प्रविधि क्षमता भएको चीनले यी सहकार्य संयन्त्रमार्फत एसिया–प्रशान्त क्षेत्रका अर्थतन्त्रहरूबीच व्यावहारिक सहकार्यलाई अगाडि बढाउन र विज्ञान तथा प्रविधि नवप्रवर्तनमा आधारित साझेदारी निर्माण गर्न सक्छ।’

क्वालालम्पुरस्थित मलेसिया–चीन व्यापार परिषद्का प्रमुख सञ्चालन अधिकृत जर्जी तु हान ह्वेईले चीन डिजिटल अर्थतन्त्र, स्वच्छ ऊर्जा र साना तथा मझौला उद्यमको विकासमा सक्रिय रूपमा संलग्न रहेको मात्र नभई यी क्षेत्रमा व्यापक अनुभवसमेत हासिल गरिसकेको बताउनुभयो।

चीनले आफ्नो विकास अनुभवलाई अहिले क्षेत्रीय साझा विकास प्रवर्द्धन गर्ने ठोस कार्यमा रूपान्तरण गरिरहेको उहाँले उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो, ‘पहिले आफ्नै घरलाई व्यवस्थित बनाउने र त्यसपछि साझेदारहरूलाई पनि सँगै अघि बढाउने चीनको यो दृष्टिकोणले क्षेत्रीय सहकार्यमा चीनको नेतृत्वदायी भूमिका र उदाहरणीय प्रभावलाई प्रतिबिम्बित गर्छ।’

स्रोत : सिन्ह्वा, नोभेम्बर २०, २०२६

Facebook Comments