घरघरमा दीपावली गरी लक्ष्मीलाई स्वागत
काठमाण्डू । नेपालीको दोस्रो ठूलो चाड तिहारका अवसरमा आज बेलुकी राजधानीलगायत देशभर घर–घरमा लक्ष्मीलाई स्वागत गर्न दीपावली गरिएको छ ।
तिहारका अवसरमा आज दीपावली गरिने मुख्य दिन हो । यसलाई दीपमालिका पनि भनिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्याङलगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिएको हो । यसैले तिहार पर्वलाई दीपमालिका पनि भनिन्छ ।
सफा सुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ । यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी साँझ दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिएको हो ।
लक्ष्मीपूजा गरिने कार्तिक कृष्ण औँसी अर्थात् आजको रातलाई सुखरात्रि पनि भनिन्छ । वर्षभर मनाइने चार प्रमुख रात्रिमध्ये यो पनि एक हो । लक्ष्मी पूजाका लागि आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाइएको छ ।
पाइलैपिच्छे केराको सुत्लो वा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइएको छ । जसका कारण गाउँ, सहर नै झिलीमिली देखिएको छ । हाल ‘पालामा दियो’को स्थानमा मैनबत्ती बाल्ने प्रचलन बढेको छ । दियोमा तेल राखेर बत्ती बाल्नु नै वैदिक परम्परा भएको धर्मशास्त्रका जानकार प्रा तोयराज नेपाल बताउनुहुन्छ ।
दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी, कुबेर स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ ।
लक्ष्मीपूजापछि कन्या छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणा दिने प्रचलन छ । आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास रहँदै आएको छ ।
लक्ष्मीपूजा सकी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस् लक्ष्मी र धनधान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।
आज साँझ युवती समूह बनाई घरघरमा भैलो खेल्न सुरु गरेका छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान बलिराजालाई दिनुभएको थियो भन्ने धार्मिक विश्वास रहिआएको छ । रासस

