२०८३ कार्तिक ५, बिहीवार

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान, ग्लोबल गभर्नेन्स फोरममा सम्बोधन गर्ने

       
  • ग्लोबल गभर्नेन्स फोरममा सहभागी हुन चीन प्रस्थान ।
  • विशिष्ट अतिथिका रूपमा सम्मेलनलाई सम्बोधन गर्ने ।
  • विश्व शान्ति, जलवायु परिवर्तन र कृत्रिम बौद्धिकताबारे छलफल हुने ।

 काठमाण्डू । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गर्नुभएको छ । चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना हुने ‘ग्लोबल गभर्नेन्स फोरम’मा सहभागी हुन उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

‘परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण’ भन्ने मूल विषय रहेको उक्त सम्मेलन अक्टोबर २३ देखि २५ सम्म आयोजना हुँदैछ । सम्मेलनमा पूर्वराष्ट्रपति भण्डारीले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ । सम्मेलनअन्तर्गत अक्टोबर २४ र २५ मा विभिन्न विषयमा समानान्तर सत्र, प्यानल छलफल तथा गोलमेच बैठक आयोजना गरिनेछ ।

फोरममा संयुक्त राष्ट्रसङ्घ केन्द्रित अन्तर्राष्ट्रिय प्रणालीको संरक्षण, विश्व शान्ति र शान्ति स्थापना कार्यमा आवश्यक सुधार, बहुपक्षीयताको प्रवर्द्धन, अन्तर्राष्ट्रिय सम्बन्धमा विकासशील मुलुकको बढ्दो भूमिका तथा अन्तर्राष्ट्रिय व्यापारमा ‘ग्लोबल साउथ’का मुलुकको भूमिकालगायत विषयमा छलफल हुनेछ ।

त्यसैगरी, जलवायु परिवर्तन र यसको प्रभाव, हरित तथा न्यून कार्बन विकास, दिगो विकास, कृत्रिम बौद्धिकता र साइबर स्पेसलगायत विषयमा पनि बहस हुने बताइएको छ । पूर्वराष्ट्रपति भण्डारी आगामी सोमबार स्वदेश फर्कने कार्यक्रम रहेको छ । रासस

Facebook Comments