२०८३ कार्तिक ६, शुक्रवार

दसैँका पुराना सम्झना हराउँदै, बदलिँदो जीवनशैलीले घटायो गाउँघरको रौनक

       
  • पिङ, चङ्गा र सामूहिक खेलकुदको चहलपहल घट्दै
  • रोजगारीका लागि गाउँ छाड्ने र मोबाइलमा रमाउने क्रम बढ्दो
  • आधुनिकतासँगै मौलिक संस्कार र संस्कृति जोगाउनुपर्नेमा जोड

जनक श्रेष्ठ/लमजुङ । दसैँ नजिकिँदै गर्दा विगतमा गाउँघरमा पिङ हाल्ने, चङ्गा उडाउने र साथीभाइसँग रमाइलो गर्ने चटारो हुन्थ्यो । विद्यालय बिदा भएपछि बालबालिका पिङ खेल्न र साथीभाइसँग भेटघाट गर्न उत्साहित हुन्थे । घरआँगन सफा गर्ने, बाटोघाटो सिँगार्ने र आफन्तको आगमनले गाउँघरमा छुट्टै रौनक छाउँथ्यो ।

अहिले पनि दसैँमा घरआँगन सजाउने, आफन्तसँग भेटघाट गर्ने तथा मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिने परम्परा कायम छ । तर, विगतमा गाउँघरमा देखिने पिङको चहलपहल, सामूहिक खेलकुद र भेटघाटको रौनक धेरै ठाउँमा घट्दै गएको छ । रोजगारीका लागि गाउँ छाड्ने क्रम, आधुनिक प्रविधि र बदलिँदो जीवनशैलीले दसैँ मनाउने शैलीमा परिवर्तन ल्याएको छ ।

बेँसीसहर नगरपालिका-११, चितीका ७२ वर्षीय हरिकृष्ण तिवारीका लागि दसैँ विगतका अनेक सम्झनासँग जोडिएको पर्व हो । उहाँको बाल्यकालमा आर्थिक अभाव थियो । वर्षमा एक जोर नयाँ लुगा पाउन पनि कठिन हुन्थ्यो । नयाँ लुगा लगाउन पाउँदा ठूलो खुसी मिल्ने गरेको उहाँ सम्झनुहुन्छ ।

त्यतिबेला सबैको नयाँ कपडा किनेर लगाउने अवस्था थिएन । घरमै उपलब्ध कपडाबाट लुगा सिलाएर लगाउने चलन थियो । “एक जोर नयाँ लुगा लगाउन पाउँदा खुट्टा भूइँमा नपरेजस्तो लाग्थ्यो,” उहाँले बाल्यकाल सम्झँदै भन्नुभयो ।

दसैँमा खानपानको अवस्था पनि अहिलेको जस्तो सहज थिएन । मासु खान वर्ष दिन कुर्नुपर्ने अवस्था रहेको उहाँको अनुभव छ । अहिले खानपान र किनमेलको सुविधा बढे पनि आर्थिक अवस्था कमजोर भएका परिवारलाई चाडपर्व मनाउन कठिन हुने गरेको उहाँ बताउनुहुन्छ । विगतमा आर्थिक अवस्था फरक भए पनि अहिलेको जस्तो खर्च र देखासिकीको दबाब कम रहेको उहाँको बुझाइ छ ।

दसैँको अर्को आकर्षण पिङ थियो । गाउँका मानिस मिलेर पिङ हाल्थे । युवाहरू बाबियो सङ्कलन गरेर डोरी बाट्थे र आवश्यक काठ तथा अन्य सामग्री जुटाउँथे । टाढाटाढाबाट मानिस पिङ खेल्न आउने गरेको तिवारी सम्झनुहुन्छ । पिङ खेल्ने, गीत गाउने र साथीभाइसँग रमाइलो गर्ने गतिविधिले गाउँमा आत्मीयता बढाउँथ्यो ।

त्यतिबेला कौडा तथा अन्य परम्परागत खेल खेल्ने चलन पनि थियो । मकैका गेडा, आरुका गुठली र ढुङ्गाका साना टुक्रा प्रयोग गरेर खेलिने खेल बालबालिकाका मनोरञ्जनका माध्यम थिए । गाउँले भेला भएर खेल्ने, गफ गर्ने र गीतसङ्गीतमा रमाउने गर्थे । मनोरञ्जनका साधन सीमित भए पनि सामूहिक सहभागिताले दसैँलाई रमाइलो बनाउने गरेको उहाँको अनुभव छ ।

दसैँको तयारीमा गाउँलेबीच सहयोग र सहकार्य उत्तिकै महत्त्वपूर्ण थियो । घरायसी काम गर्न नसक्ने ज्येष्ठ नागरिक तथा असहायलाई अरूले सघाउँथे । परमा प्रथाअनुसार एकअर्काको काममा सहयोग गरिन्थ्यो । दसैँअघि बाटोघाटो, चौतारा र सार्वजनिकस्थल सफा गर्ने तथा मिलेर चाडपर्वको तयारी गर्ने चलन थियो । दशमीदेखि पूर्णिमासम्म आफन्तकहाँ जानेआउने र मान्यजनबाट टीका लगाउने परम्पराले पारिवारिक सम्बन्ध बलियो बनाउँथ्यो ।

अहिले पढाइ, रोजगारी र अन्य अवसरको खोजीमा धेरै मानिस गाउँबाहिर गएका छन् । दसैँमा घर फर्किनेहरू पनि छोटो समय बसेर फर्किने हुँदा पहिलेको जस्तो चहलपहल नहुने गरेको तिवारीको अनुभव छ । कतिपय बालबालिका अष्टमीका आसपास गाउँ आउने र टीकाको भोलिपल्टै फर्किने गरेका छन् । पिङ खेल्ने चलन पनि पहिलेको तुलनामा कम भएको छ ।

मोबाइलको बढ्दो प्रयोगले परिवारका सदस्यबीचको संवाद र घरायसी काममा सहभागिता घटाएको उहाँको गुनासो छ । बालबालिका मोबाइलमै व्यस्त हुँदा सँगै बसेर कुराकानी गर्ने र घरको काममा सघाउने प्रवृत्ति कम हुँदै गएको उहाँ बताउनुहुन्छ । आर्थिक हैसियतअनुसार खानपान र खर्च गर्ने क्षमतामा देखिने भिन्नताले पनि चाडपर्वको अनुभूतिमा फरक पारेको उहाँको बुझाइ छ ।

पुरानो पुस्ताको सम्झना, नयाँ पुस्ताको अनुभव

स्थानीय युवा सुवास गुरुङ पनि दसैँ मनाउने शैलीमा परिवर्तन आएको अनुभव गर्नुहुन्छ । उहाँका अनुसार बाल्यकालमा साथीभाइसँग गुच्चा खेल्ने, पिङ खेल्ने, नाचगान गर्ने र सामूहिक रूपमा रमाइलो गर्ने चलन थियो । अहिले गाउँमा साथीभाइको सङ्ख्या कम हुँदा यस्ता गतिविधि पनि घट्दै गएका छन् ।

पहिले गाउँमा प्रचलित रङ्गटे पिङ अहिले पनि कतैकतै देखिए पनि यसको चलन निकै कम भएको गुरुङ बताउनुहुन्छ । दसैँमा साथीभाइसँग भेटघाट गरेर कुराकानी गर्ने र रमाइलो गर्नेभन्दा खानपान तथा मोबाइलमा समय बिताउने प्रवृत्ति बढेको उहाँको अनुभव छ ।

“पहिले दसैँ परम्परागत संस्कार र संस्कृतिमा आधारित भएर मौलिक ढङ्गले मनाइन्थ्यो । अहिले भने आधुनिक शैली र देखासिकीको प्रभाव बढ्दै गएको छ,” उहाँले भन्नुभयो ।

मोबाइल तथा सामाजिक सञ्जालको प्रयोग र वैदेशिक रोजगारीका कारण पारिवारिक भेटघाटमा कमी आएको गुरुङको बुझाइ छ । कतिपय युवा विदेशमा र परिवारका सदस्य टाढा हुँदा घरमा चहलपहल कम हुने गरेको उहाँ बताउनुहुन्छ । यसले पुराना संस्कार र संस्कृति नयाँ पुस्तामा हस्तान्तरण हुने विषयमा पनि चिन्ता बढाएको उहाँको भनाइ छ ।

पुराना संस्कार र संस्कृति जोगाउन युवाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उहाँ बताउनुहुन्छ । आधुनिक समयलाई आत्मसात् गर्दै पुर्खाबाट प्राप्त परम्परालाई व्यवहारमा उतार्नुपर्ने उहाँको सुझाव छ ।

“आधुनिक समयलाई आत्मसात् गर्दै मौलिक संस्कार र संस्कृतिलाई पनि जोगाउनुपर्छ । पुर्खाबाट प्राप्त परम्परालाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्दै लैजान सके मात्रै हाम्रो मौलिकता जीवित रहन्छ,” उहाँले भन्नुभयो ।

६३ वर्षीया धङ्खु गुरुङलाई पनि पहिलेको दसैँको सम्झना ताजै छ । उहाँका अनुसार विगतमा दसैँ सामूहिक रूपमा मनाइन्थ्यो । गाउँका मानिस मिलेर लिङ्गे तथा रङ्गीचङ्गी पिङ हाल्ने, खेल्ने र भेटघाट गर्दै सुखदुःखका कुरा साटासाट गर्ने गर्थे । गाउँघरमा मानिसको चहलपहल हुन्थ्यो भने चाडपर्वले आपसी सम्बन्ध र आत्मीयता बढाउने अवसर प्रदान गर्थ्यो ।

दसैँको तयारीमा महिलाको भूमिका महत्त्वपूर्ण हुने गरेको उहाँ सम्झनुहुन्छ । घर लिपपोत गर्ने, घरआँगन सजाउने, बाबियो काटेर कुच्चो बनाउने तथा सालका पातबाट दुना-टपरी गाँस्नेजस्ता काममा महिला व्यस्त हुन्थे । घरायसी सामग्री आफैँ तयार पार्ने र मिलेर चाडपर्व मनाउने चलन थियो । अहिले भने यस्ता परम्परागत अभ्यास घट्दै गएको उहाँको अनुभव छ ।

गुरुङका श्रीमान् भारतीय सेनामा कार्यरत हुनुहुन्थ्यो । लाहुरे श्रीमान् बिदामा घर फर्किने समय परिवारका लागि विशेष खुसीको क्षण हुने गरेको उहाँ बताउनुहुन्छ । श्रीमान् कहिले घर आउलान् भन्ने प्रतीक्षाले दसैँको उत्साह थपिन्थ्यो । उहाँको कमाइबाट घरपरिवार चलाउने गरिन्थ्यो । अहिले उहाँका छोरा पनि लाहुरे हुनुहुन्छ ।

विगतमा परिवारका सदस्य घर फर्किएपछि सबै मिलेर चाडपर्व मनाउँदाको खुसी बेग्लै हुने गरेको उहाँ सम्झनुहुन्छ । “पहिले पैसा धेरै नभए पनि गाउँमा मानिसको जमघट हुन्थ्यो । सबै मिलेर दसैँ मनाउँथ्यौँ, रमाइलो गर्थ्यौँ । अहिले पैसा भए पनि पहिलेको जस्तो गाउँमा चहलपहल र रौनक छैन,” उहाँले भन्नुभयो ।

उहाँका अनुसार रोजगारी र अवसरको खोजीमा युवा विदेशिने क्रम बढेसँगै गाउँघरमा युवा पुस्ताको उपस्थिति पातलिँदै गएको छ । विदेशमा रहेका परिवारका सदस्यले पठाएको रकमबाट दसैँ मनाउने क्रम रहे पनि पहिलेको जस्तो सामूहिक भेटघाट र रमाइलो हुन सकेको छैन ।

गाउँ फर्किएका युवाको भेटघाट गर्ने शैलीसमेत बदलिएको उहाँ बताउनुहुन्छ । पहिले गाउँमा भेला भएर पिङ खेल्ने, गफ गर्ने र मिलेर रमाइलो गर्ने चलन बढी भए पनि अहिले कतिपय युवा गाउँमै हुँदा पनि मोबाइलमा व्यस्त हुने गरेका छन् । यसले सँगै बसेर कुराकानी गर्ने, सुखदुःख साटासाट गर्ने र सामूहिक रूपमा रमाइलो गर्ने अवसर घटाएको उहाँको अनुभव छ । रोजगारीका लागि गाउँ छाड्ने क्रम र बदलिँदो जीवनशैलीले पुराना संस्कार, संस्कृति र सामूहिकताको परम्परा कमजोर हुँदै गएको उहाँको चिन्ता छ ।

परम्परा जोगाउँदै समयसँग अघि बढ्ने

दसैँ हिन्दू धर्मावलम्बीको प्रमुख पर्व हो । घटस्थापनादेखि सुरु हुने नवरात्रमा देवी दुर्गाको पूजा आराधना गरिन्छ भने विजयादशमीका दिन मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिने चलन छ । असत्यमाथि सत्यको विजय र पारिवारिक पुनर्मिलनको सन्देश बोकेको दसैँ धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण पर्व हो ।

दसैँसँग जोडिएका पिङ, परम्परागत खेल, चङ्गा उडाउने गतिविधि र सामूहिक भेटघाटले विगतमा गाउँघरको जीवनलाई जीवन्त बनाउँथे । यस्ता गतिविधि मनोरञ्जनका माध्यम मात्र थिएनन्, आपसी सहयोग, मित्रता र सामुदायिक सम्बन्ध बलियो बनाउने अवसर पनि थिए ।

अहिले यस्ता चलन सबै ठाउँमा उस्तै अवस्थामा छैनन् । कतै अझै निरन्तरता छ भने कतै घट्दै गएका छन् । बदलिँदो समयसँगै चाडपर्व मनाउने शैली फेरिनु स्वाभाविक भए पनि परिवर्तनका क्रममा आफ्ना मौलिक परम्परा र सामाजिक सम्बन्धलाई बेवास्ता गर्नु उचित हुँदैन ।

नयाँ पुस्तालाई पुराना खेल, संस्कार र परम्पराको महत्त्व बुझाउने, ज्येष्ठ नागरिकका अनुभव सुन्ने तथा परिवार र समुदायसँग समय बिताउने अवसर सिर्जना गर्न आवश्यक छ । दसैँलाई पहिलेको जस्तै बनाउन सबै कुरा पुरानै अवस्थामा फर्काउनुपर्छ भन्ने होइन । आधुनिक जीवनशैली र प्रविधिको उपयोग गर्दै पनि पारिवारिक भेटघाट, आपसी सहयोग र सामूहिक खुसीलाई प्राथमिकता दिन सकिन्छ । गाउँमा रहेका परम्परागत खेल र सांस्कृतिक गतिविधिलाई नयाँ पुस्तासँग जोड्न सके तिनको निरन्तरता सम्भव हुन्छ ।

दसैँ आज पनि उत्तिकै महत्त्वपूर्ण छ । तर, यसको रौनक र अनुभव समयसँगै बदलिँदै गएको छ । ज्येष्ठ नागरिकका सम्झना र युवाका अनुभवले चाडपर्व खानपान र बिदामा मात्र सीमित नभई परिवार, आफन्त, छिमेकी र समुदायसँगको सम्बन्धसँग जोडिएको देखाउँछन् । त्यसैले बदलिँदो समयसँगै दसैँ मनाउने शैली परिवर्तन भए पनि यसको आत्मीयता, सहकार्य र सांस्कृतिक पहिचान जोगाइराख्नु आवश्यक छ । रासस

Facebook Comments