२०८३ कार्तिक ३, मंगलवार

आज महानवमी : सिद्धिदात्री देवीको विशेष पूजा-आराधना गरिँदै

       

भिओके समाचार/विराटनगर । नेपालीहरूको महान् चाड बडादशैंअन्तर्गत आज आश्विन शुक्ल नवमी अर्थात् महानवमी पर्व देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदै छ।

नवरात्रको नवौँ दिन महानवमीका अवसरमा नवदुर्गाको नवौँ स्वरूप माता सिद्धिदात्री देवीको विशेष पूजा-आराधना गर्ने धार्मिक परम्परा रहेको छ। सिद्धिदात्री देवीलाई सम्पूर्ण सिद्धि, ज्ञान, शक्ति तथा आध्यात्मिक पूर्णता प्रदान गर्ने देवीका रूपमा पुज्ने गरिन्छ।

धार्मिक मान्यताअनुसार माता सिद्धिदात्रीको आराधनाबाट भक्तजनले ज्ञान, विवेक, आत्मबल तथा मनोकामना पूर्तिको आशीर्वाद प्राप्त गर्ने विश्वास गरिन्छ। यस दिन दुर्गा भवानीको विशेष पूजा, पाठ, हवन तथा आराधना गरी असत्यमाथि सत्य र आसुरी प्रवृत्तिमाथि दैवी शक्तिको विजयको कामना गरिन्छ।

महानवमीका अवसरमा देशका विभिन्न देवी मन्दिर तथा शक्तिपीठहरूमा विशेष पूजा-आराधना गर्ने परम्परा छ। काठमाण्डू उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, भद्रकाली, दक्षिणकाली, नक्साल भगवती, भोजपुरको सिद्धकाली, विराटनगरको कालीमन्दीर, धरानको दन्तकाली, सप्तरीको सखडा भगवतीलगायत देशका विभिन्न शक्तिपीठहरूमा श्रद्धालु भक्तजनले देवीको दर्शन तथा पूजा गर्ने गर्दछन्।

यस दिन विभिन्न स्थानमा कन्या पूजा गर्ने परम्परा पनि रहेको छ। कन्यालाई देवीको स्वरूप मानी पूजा, सम्मान तथा भोजन गराउने गरिन्छ। हिन्दू धर्मदर्शनमा नारीलाई सृष्टि, शक्ति, ममता र संरक्षणको प्रतीकका रूपमा सम्मान गर्ने परम्परासँग पनि नवरात्रको विशेष सम्बन्ध रहेको छ।

महानवमीका दिन विश्वकर्मा तथा औजार, हातहतियार, सवारीसाधन र विभिन्न यन्त्र उपकरणको पूजा गर्ने प्रचलनसमेत रहेको छ। परम्परागत रूपमा कतिपय शक्तिपीठ तथा घरघरमा बलि दिने चलन रहे पनि विभिन्न स्थानमा नरिवल, कुभिण्डो तथा फलफूल अर्पण गरेर सात्त्विक पूजा गर्ने गरिन्छ।

नवरात्रभर दुर्गा भवानीका विभिन्न नौ स्वरूपको पूजा-आराधना गरिन्छ। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा गर्ने धार्मिक परम्परा छ।

महानवमीलाई असत्य, अन्याय, अहङ्कार र आसुरी प्रवृत्तिविरुद्ध सत्य, न्याय, सदाचार तथा दैवी शक्तिको विजयको सन्देश दिने महत्वपूर्ण पर्वका रूपमा लिइन्छ।

बडादशैंको प्रमुख दिन विजयादशमीमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा रहेको छ। महानवमीसँगै विजयादशमीको तयारी पनि अन्तिम चरणमा पुग्ने गर्दछ।

यस बर्ष विजयादशमीको उत्तम साईत भोलि कात्तिक ४ गते बुधबार बिहान १० बजेर २६ मिनेट रहेको छ।

Facebook Comments