बडादशैंको चौथो दिन आज कूष्माण्डा देवीको पूजाआजा गरिँदै
भिओके समाचार/विराटनगर । नेपालीहरुको महान चाड बडादशैँको चौथो दिन आज देशैभरका शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी कूष्माण्डा माताको पूजा आराधना गरिंदै छ ।
कूष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । देवी कुष्माण्डाले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्य भगवानलाई आफ्नो तापशक्ति दिएर प्रज्वलित बनाएको र अन्य ग्रहको समेत रचना गरी पूरै सौर्यमण्डल सञ्चालन गरेको देवीभागवत् लगायतका ग्रन्थहरुमा उल्लेख छ ।
कूष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो । उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैँमा यसको पूजाआजा गर्ने चलन छ ।
विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि बडादशैंका अवसरमा ताप्लेजुङको पाथीभरा, सुनसरीको दन्तकाली, भोजपुरको सिद्धकाली, सप्तरीको सखडा भगवती, नेपालगञ्जको बागेश्वरी, काठमाण्डूको दक्षिणकाली, मैतीदेवी लगायतका शक्तिपिठहरुमा भक्तजनहरुको घुईचो लागेको छ ।

