बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार, चारवटा हेलिकोप्टर परिचालन
- नेपाली सेनाका चार हेलिकोप्टरबाट उद्धार कार्य जारी ।
- जगत्, न्याक्फेदी, यारु र पायुबाट ३६ जनाको उद्धार ।
- उद्धार गरिएकामा एक शिशु र एक विदेशी नागरिक ।
भिओके समाचार/काठमाण्डू । बूढीगण्डकी नदीमा आएको बाढीमा फसेका ३६ जनाको उद्धार गरिएको छ । नेपाली सेनाले चारवटा हेलिकोप्टर र स्थलमार्गबाट फौज परिचालन गरी उनीहरूको उद्धार गरेको हो ।
नेपाली सेनाले आइतबार दिउँसो १२ बजेसम्मको विवरण सार्वजनिक गर्दै उद्धार गरिएकामा एक शिशु र एक विदेशी नागरिकसमेत रहेको जनाएको छ ।
सेनाका अनुसार गोरखाको जगत् क्षेत्रबाट ६ जना, न्याक्फेदीबाट नौ जना, यारुबाट नौ जना र पायुबाट १२ जनाको उद्धार गरिएको छ ।
उद्धार कार्यका लागि सेनाले एमआई-१७ सहित चारवटा हेलिकोप्टर परिचालन गरेको छ । स्थलमार्गबाट समेत फौज खटाएर प्रभावित क्षेत्रमा उद्धार कार्य भइरहेको सेनाले जनाएको छ ।
अन्य सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालासँग समन्वय गरी थप खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ ।

