२०८३ आश्विन २३, शुक्रवार

पोखरा स्कुल बस दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन

- दुर्घटनाका तीन जना मृतक र घाइतेको पहिचान खुल्यो

पोखरा महानगरपालिका–२८ माझठानाबाट कालिकातर्फ आउने क्रममा कालिकास्थित ओख्लेको भीरमा शुक्रबार बिहान दुर्घटना भएको कालिका बोर्डिङको बस । घटनास्थलबाट १९ जनाको उद्दार गरिएको छ। तस्बिरः कृष्ण दवाडी/रासस

       
  • दुर्घटनामा चार विद्यार्थीसहित पाँच जनाको मृत्यु ।
  • १४ विद्यार्थी घाइते, पाँच दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने ।
  • विद्यालयका सवारीसाधनको सुरक्षा जाँच र सुधारका उपाय सुझाइने ।

भिओके समाचार/पोखरा । पोखरा महानगरपालिकाले पोखरा-२८ मा आज भएको कालिका बोर्डिङ स्कुलको बस दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।

वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा गठित समितिमा मेकानिकल इन्जिनियर सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई सदस्य रहनुभएको छ ।

समितिलाई दुर्घटनाको कारण र घटनासँग सम्बन्धित विषयमा विस्तृत अध्ययन तथा छानबिन गरी पाँच दिनभित्र सत्यतथ्यसहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ ।

माझठानाबाट विद्यार्थी बोकेर आएको बस कालिकास्थित ओख्लेको भिरमा दुर्घटना हुँदा चार विद्यार्थीसहित पाँच जनाको मृत्यु भएको थियो । दुर्घटनामा १४ विद्यार्थी घाइते भएका छन् ।

महानगरपालिकाका प्रमुख एवं नगर शिक्षा समितिका अध्यक्ष धनराज आचार्यका अनुसार दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुधारका उपायसहित सुझाव पेस गर्न समिति गठन गरिएको हो ।

समितिले विद्यालयका सवारीसाधनको सुरक्षा अवस्था, विद्यार्थीको सुरक्षित आवागमन र आगामी दिनमा अपनाउनुपर्ने सावधानीबारे पनि सुझाव दिनेछ ।

दुर्घटनाप्रति दुःख व्यक्त गर्दै नगरप्रमुख आचार्यले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । उहाँले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै घाइते विद्यार्थी, चालक तथा सहचालकको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

विद्यार्थीको सुरक्षा सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै उहाँले विद्यालयका सवारीसाधनको नियमित जाँच, सुरक्षा मापदण्डको कडाइका साथ पालना र प्रभावकारी अनुगमन गर्न सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराउनुभएको छ ।

     पोखरा स्कुल बस दुर्घटनाका तीन जना मृतक र घाइतेको पहिचान खुल्यो

बस दुर्घटनामा परी कालिका इङ्लिस बोर्डिङ स्कुलका छात्रा ममता तिवारी र छात्र असिम कँडेलको मृत्यु भएको छ ।

बसमा ‘लिफ्ट’ मागी सवार स्थानीय ६५ वर्षीय बाबुराम तिवारीको पनि ज्यान गएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो ।

दुुर्घटनामा परी मृत्यु भएका थप दुई जनाको पहिचान खुल्न बाँकी रहेको उहाँले बताउनुभयो । दुर्घटनामा परी पोखरा महानगरपालिका–२८ की १६ वर्षीया सृष्टि तिवारी, सोही ठाउँका १६ वर्षीय शिसन थापा मगर, १६ वर्षीय सौगात तिमिल्सिना, १५ वर्षीया अस्मी कँडेल, १४ वर्षीया स्नेहा गौतम, १३ वर्षीया सोनिया तिवारी र १३ वर्षीया अङ्कित पराजुली घाइते हुनुभएको छ ।

यस्तै मादी गाउँपालिका–१२ बस्ने १५ वर्षीया स्मृति खत्री, १६ वर्षीया स्नेहा तिवारी, १४ वर्षीया आकृति बुढाथोकी, १५ वर्षीया मेरिना तिवारी, १४ वर्षीया सुप्रिया आचार्य, १६ वर्षीय यमन मगर र बसका चालक पोखरा–१५ बस्ने ५७ वर्षीय तुलबहादुर गुरुङ घाइते हुनुभएको प्रहरीले जनाएको छ । राससका अनुसार  घाइतेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।

Facebook Comments