२०८३ आश्विन १८, आइतवार

चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा, कोरला नाकाको अवस्थाबारे चासो

       
  • चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा ।
  • कोरला नाकाको अवस्थाबारे जानकारी लिन भ्रमण ।
  • रसुवा र तातोपानी नाका बन्द भएपछि कोरलामाथि चासो बढ्दो ।

मुस्ताङ । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरला नाका हुँदै शनिबार उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माका अनुसार चिनियाँ राजदूत कोरला नाकाबाट मुस्ताङ आउनुभएको हो । भ्रमणको विस्तृत जानकारी भने प्राप्त नभएको उहाँले बताउनुभयो ।

राजदूत चाङ तीनदिने भ्रमणका क्रममा लोमान्थाङ पुग्नुभएको हो । टोलीमा पाँच जना चिनियाँ नागरिक रहेको र आइतबार लोमान्थाङबाट कोरला नाका हुँदै चीनतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङका अनुसार कोरला नाकाको वस्तुस्थिति बुझ्न चिनियाँ राजदूत मुस्ताङ आउनुभएको हो ।

लामो समयदेखि बन्द रहेको तातोपानी नाकाको विकल्प बनेको केरुङ नाका भोटेकोशी बाढीका कारण प्रभावित भएपछि कोरला नाका पुनः सञ्चालनको माग बढिरहेका बेला चिनियाँ राजदूतको मुस्ताङ भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

रसुवा र तातोपानी नाका बन्द भएयता मुस्ताङ भन्सार कार्यालयले दैनिक करिब रु ३० करोड राजस्व सङ्कलन गर्दै आएको थियो । रासस

Facebook Comments