उत्तर कोरियाले एआईयुक्त क्षेप्यास्त्र परीक्षण गरेको दाबी
- एआईयुक्त क्षेप्यास्त्र परीक्षण, किमद्वारा निरीक्षण ।
- क्षेप्यास्त्रले ७ सय किलोमिटरभन्दा बढी दूरी पार गर्यो ।
- कम उचाइमा उडान मार्ग बदल्ने दाबी ।
प्योङयाङ । उत्तर कोरियाका नेता किम जोङ उनले आफ्नी छोरी किम जु एसँगै शनिबार गरिएको क्षेप्यास्त्र परीक्षणको निरीक्षण गर्नुभएको उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले आइतबार जनाएको छ ।
सरकारी सञ्चारमाध्यमका अनुसार परीक्षण गरिएको क्षेप्यास्त्रमा कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोग गरिएको थियो । उक्त प्रविधिले क्षेप्यास्त्रलाई कम उचाइमा उडिरहेका बेला आफ्नो उडान मार्ग परिवर्तन गर्न सहयोग गर्ने दाबी गरिएको छ ।
दक्षिण कोरियाली सेनाका अनुसार पूर्वी तटीय सहर वोन्साननजिकबाट शनिबार बिहान प्रक्षेपण गरिएको क्षेप्यास्त्रले ७ सय किलोमिटरभन्दा बढी दूरी तय गरेको थियो । सेनाले परीक्षणका थप विवरण भने सार्वजनिक गरेको छैन ।
परीक्षणको निरीक्षणपछि किमले रणनीतिक क्षेप्यास्त्र सञ्चालन गर्ने सैनिकहरूले आफ्नो क्षमता र प्रतिकारात्मक तयारी प्रदर्शन गरेको बताउनुभएको सरकारी सञ्चारमाध्यमले जनाएको छ । उहाँले देशको रणनीतिक सैन्य क्षमताको विश्वसनीयता कायम राख्न निरन्तर प्रयास गर्नुपर्नेमा जोड दिनुभएको बताइएको छ ।
उत्तर कोरियाले सैनिकलाई अतिध्वनिक रणनीतिक हतियार प्रणाली सञ्चालनसम्बन्धी प्रशिक्षण प्रदान गर्ने उद्देश्यले परीक्षण गरिएको जनाएको छ ।
सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिरमा किम क्षेप्यास्त्र प्रक्षेपणको निरीक्षण गरिरहेको देखिन्छ । अर्को तस्बिरमा उहाँ आफ्नी छोरी र पत्नी रि सोल जुका साथ देखिनुभएको छ ।
किमकी छोरी जु ए सन् २०२२ मा पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिनुभएको थियो । दक्षिण कोरियाली गुप्तचर निकायले पछिल्ला वर्षमा सार्वजनिक तथा सैन्य कार्यक्रममा उहाँको बढ्दो उपस्थितिका आधारमा सम्भावित उत्तराधिकारीका रूपमा उल्लेख गर्दै आएको छ ।
दक्षिण कोरियाली सेनाले सीमावर्ती क्षेत्रमा भएको विस्फोटमा तीन सैनिक घाइते भएपछि उत्तर कोरियासँग घटनाबारे स्पष्टीकरण मागेको केही दिनपछि यो परीक्षण भएको हो । उत्तर कोरियाले भने उक्त विस्फोटमा आफ्नो संलग्नता नरहेको बताउँदै आएको छ । एएफपी

