२०८३ भाद्र २९, सोमवार

भानुआटुमा यात्रुवाहक डुङ्गा डुब्दा ३० जनाभन्दा बढी बेपत्ता, खोजीकार्य जारी

       
  • ४७ यात्रुसहितको डुङ्गा समुद्रमा डुब्यो 
  • १५ जनाको जीवितै उद्धार, एक जनाको शव फेला 
  • तीव्र हावा र खराब मौसमबीच दुर्घटनाको आशंका 

वेलिङ्गटन । प्रशान्त टापु राष्ट्र भानुआटुको समुद्री क्षेत्रमा यात्रु डुङ्गा डुब्दा ३० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन् । अधिकारीहरूले बेपत्ताको खोजी तथा उद्धार कार्य सोमबार पनि जारी राखेका छन् ।

एमभी माटुई नामक डुङ्गा शुक्रबार ४७ जना यात्रुसहित अम्बाई र सान्टो टापुबीच यात्रा गरिरहेका बेला डुबेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सप्ताहन्तमा उद्धारकर्मीहरूले समुद्रबाट १५ जनालाई जीवितै उद्धार गरेको प्रधानमन्त्री कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दुर्घटनामा एक जनाको शवसमेत फेला परेको छ भने ३० भन्दा बढी व्यक्ति अझै बेपत्ता रहेका छन् । खोजी तथा उद्धार कार्य अब समुद्रतट आसपासका क्षेत्रमा केन्द्रित गरिने भएको छ ।

समुद्री धार र खोलाको पानीले बगाएका व्यक्तिहरू तटीय क्षेत्रमा पुग्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै खोजीको क्षेत्र परिवर्तन गर्न लागिएको अधिकारीहरूले बताएका छन् ।

प्रधानमन्त्री कार्यालयका अनुसार तीव्र हावा र खराब समुद्री अवस्थासम्बन्धी चेतावनीलाई बेवास्ता गर्नु तथा डुङ्गामा क्षमताभन्दा बढी यात्रु राखिनुजस्ता लापरवाहीका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

भानुआटुको मौसम विज्ञान सेवाले डुङ्गा यात्रा गरेको दिन तीव्र हावा र उच्च समुद्री छालको चेतावनी जारी गरेको थियो ।

दक्षिण प्रशान्त महासागरमा अवस्थित भानुआटु उत्तरी अस्ट्रेलियाबाट करिब एक हजार ७५० किलोमिटर पूर्वमा रहेको ८३ वटा टापुको द्वीपसमूह हो ।एपी

Facebook Comments