हिन्दू धर्मावलम्वी महिलाहरुको महत्वपूर्ण चाड तीज आजदेखि औपचारिक रुपमा सुरु, मिठामिठा परिकारहरुको दर खाएर रमाईलो गरिंदै
भिओके समाचार/काठमाण्डू । हिन्दू धर्मावलम्वी महिलाहरुको महत्वपूर्ण चाड तीज आजदेखि औपचारिक रुपमा सुरु भएको छ । प्राचिनकालदेखिनै व्रत बस्नुअघि शरीरलाई आवश्यक शक्ति र स्फूर्ती प्राप्त होस भन्ने उद्धेश्यले आज भाद्र शुक्ल द्वितीयाका दिन नेपाली नारीहरूले ‘दर’ खाने प्रचलन रहेको छ ।
तीजको पहिलो दिन खाइने दरसँगै चार दिनसम्म मनाइने यो पर्वको शुभारम्भ हुने गर्दछ । आजका दिन माइतीले छोरी-चेली रदिदीबहिनीलाई बोलाई मीठा, स्वादिष्ट र आडिला परिकार खुवाउने परम्परा रहँदै आएको छ। वर्तमान समाजमा मिठो मसिनो खानुलाई सामान्य मानिने भए पनि झण्डै २५ वर्ष अघिदेखि युगौ युगसम्म सामान्य परिवारका लागि मिठो मसिनु खानु सामान्य कुरा हुँदैन्थ्यो । त्यस समयमा नेपाल कृषि प्रधान देशमा मात्र सिमित रहेको, उद्योग धन्दाहरुको प्रर्याप्त विकास नभएको, गाईवस्तु बाख्रापाठा चराउने, घाँसदाउरा, मेलापात, ढिकीजाँतो गरेर जीवन विताउने अवस्थामा छोरीचेलीलाई माईतीले बर्षमा एक दिन भए पनि बोलाएर मिठा मिठा परिकारहरु खुवाउने, एकसरो कपडा फेरिदिने, साथीसंगी र आफन्तसँग भेटघाट गरी दुख सुखका कुरा गर्ने वातावरण मिलाउनका लागि तीज पर्वको विकास भएको अग्रज कृषक नरनाथ भट्टराई बताउनुहुन्छ ।
आजका दिन दरका रूपमा विशेष गरी दूध र दूधबाट बनेका परिकारहरु खिर, कुराउनी, ढकने, चाम्रे, घिउ, सेलरोटी जस्ता शक्तिबद्र्धक भोजनहरु खाने गरिन्छ । दरखाने दिनका भोलिपल्ट पानी समेत नखाई भगवान शिवको ब्रत गरिने हुनाले पनि ब्रतमा बस्न सक्ने शक्ति प्राप्त गर्न पनि दर खाने गरिन्छ । गाउँघरमा तीजका बेला मामाघर जाँदा केटाकेटीहरु अझ खुशी र फूर्तिला देखिन्छन् । तीजमा गाईने गीतमा वर्षभरी घरव्यवहार, मेलापात, ढिकीजाँतो, हाटबजार जाँदाका व्यथा र वेदनाहरु साथीसंगीसँग मिलेर पोख्न पाउँदा चेलीहरु आफूलाई भाग्यमानी सम्झन्छन् । त्यसैले नेपाली समाजमा तीज पर्वको अहं महत्व रहेको पण्डित हरिहर सापकोटाको भनाई छ ।
चार दिने पर्व र यसको पौराणिकता
दर खाएसँगै सुरु हुने तीज पर्व ऋषि पञ्चमीका दिन विधिवत् रूपमा समापन हुन्छ।
- पहिलो दिन (द्वितीया): दर खाने दिन।
- दोस्रो दिन (तृतीया): हरितालिका तीजको मुख्य निराहार व्रत र शिवालयहरूमा पूजाआजा।
- तेस्रो दिन (चतुर्थी): गणेश चौँथी पर्व एवं गणेश भगवानको पूजा।
- चौथो दिन (पञ्चमी): पवित्र स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजाआजा गरी व्रतको समापन।
पौराणिक मान्यता अनुसार, सत्ययुगमा हिमालयपुत्री पार्वतीले गौरीघाटमा बसेर कठिन तपस्या गरेपछि महादेवलाई पतिका रूपमा पाउने वरदान पाएकी थिइन्। तर पिता हिमालयले उनको इच्छाविपरीत भगवान् विष्णुसँग विवाह गरिदिन खोजेपछि पार्वतीका साथीहरूले उनलाई हरण गरेर कसैले नदेख्ने सुरक्षित ठाउँमा लुकाएका थिए। सोही गुप्त स्थानमा पार्वतीले निराहार व्रत बसी महादेवलाई पतिका रूपमा प्राप्त गरेकी थिइन्। साथीहरूद्वारा ‘हरण’ गरिएको दिन भाद्र शुक्ल तृतीया परेकाले यस पर्वको नाम ‘हरितालिका’ रहन गएको धार्मिक विश्वास छ।
बढ्दो भड्किलोपन र संस्कृतिमा विकृति
अघिल्ला वर्षहरूजस्तै यस वर्ष पनि तीजका नाममा बढ्दै गएको तडकभडक र उच्छृङ्खलताप्रति समाजशास्त्री तथा धर्मशास्त्रीहरूले चिन्ता व्यक्त गरेका छन्।
एक-दुई महिना अघिदेखि नै पार्टी प्यालेसहरूमा दर खाने, गरगहना र पोसाकको होडबाजी गर्ने तथा तामसी खाना खाने प्रवृत्तिले तीजको मूल मर्म र मर्मस्पर्शी संस्कृतिमा विकृति भित्र्याएको समाजशास्त्री कीर्तिकुमार राई बताउनुहुन्छ। यस्ता तडकभडकले आर्थिक रूपमा विपन्न वर्गलाई खिन्न बनाउने भएकाले मौलिक संस्कृति जोगाउन विकृति रोक्नुपर्नेमा संस्कृतिविद्हरूको जोड छ भनि राससले समाचार प्रकाशन गरेको छ ।

