२०८३ भाद्र २०, शनिवार

आज देशका विभिन्न भागहरुमा श्रीकृष्ण रथयात्रा गरिँदै

       

काठमाण्डू । भगवान श्रीकृष्णको जन्म भएको खुशियालीमा आज देशका विभिन्न भागमा रथयात्रा निकालिँदै छ । अधर्म, पाप र असत्यमा लाग्नेको संहार गरी सज्जनको रक्षा गर्न भगवान् श्रीकृष्णले जन्म लिनुभएको भन्ने जनविश्वाससहित भाद्र कृष्ण नवमीका दिन देशभरका कृष्ण मन्दिरमा रथयात्रा  निकाल्ने परम्परा सुरु गरिएको हो ।

आज विराटनगर तिनपैनीस्थित राधाकृष्ण मन्दिरबाट दिउसो ३ बजे भगवान श्रीकृष्ण विराजमान हुनुभएको आकर्षक रथलाई नगरपरिक्रमा गराईने कार्यक्रम रहेको छ । रथयात्रामा हजारौंको संख्यामा विभिन्न धार्मिक सम्प्रदायका मानिसहरुको पनि सहभागिता रहने हुनाले यस रथयात्रालाई विशेष महत्वका साथ हेर्ने गरिन्छ । रथयात्रामा निजामती सेवाका कर्मचारी र राजनीतिक दलका नेताहरुको समेत सहभागिता हुने भएकाले यो रथयात्रा विराटनगरका लागि मात्र नभएर मुलुककै उत्कृष्ट धार्मिक अनुष्ठानको केन्द्र बनेको छ । शिक्षक, कर्मचारी, विद्यार्थी, व्यवसायी, व्यापारी, समाजसेवी लगायत सर्बसाधारणको समेत वाक्लो उपस्थित रहने हुनाले विराटनगरमा निकालिने यस रथ यात्राले विशिष्ठ महत्व बोकेको स्थानीयको भनाइ छ ।

यस अवसरमा उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको नेपाल अन्तरराष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घ (इस्कोन) को कार्यालय परिसरबाट आज विशेष रथयात्रा निकाल्ने कार्यक्रम छ । यसै उपलक्ष्यमा काठमाण्डूका विभिन्न धार्मिक सङ्घसंस्थाले पनि आज श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने तयारी गरेका छन् । यसैगरी गोकर्णेश्वर-८ स्थित बेँशीगाउँमा रहेको श्रीकृष्ण मन्दिर क्षेत्रबाट पनि आज रथयात्रा निकालिने कार्यक्रम रहेको वडाध्यक्ष नन्दलाल श्रेष्ठले राससलाई जानकारी दिनुभयो । रथयात्रामा हजारौँ मानिस सहभागी हुन्छन् ।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका भगवान् श्रीकृष्णले पुतना, कङ्श, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ । धर्म स्थापनाका लागि युग युगमा जन्म लिन्छु भनी कुरुक्षेत्रमा अर्जुनलाई सत्यको पक्षमा लाग्नेको रक्षा असत्यका पक्षमा लाग्नेको संहार गर्न अवतार लिने गरेको प्रसङ्ग पनि विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ ।

Facebook Comments