भोटेकोशी बाढीः शव व्यवस्थापन अन्तिम संस्कार होइन
चितवन । रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको अकल्पनीय बाढीले त्रिशूली र नारायणी नदी हुँदै चितवनमा भेटिएका शवमध्ये ३३५ वटा शवको व्यवस्थापन गरिएको छ । तीमध्ये १२९ वटा लिङ्ग पहिचान नभएको जनाइएको छ । सनाखत हुन नसकेका ती शवलाई भरतपुर महानगरपालिका–१ देवघाट जङ्गलमा मङ्गलबार रातिसम्म व्यवस्थापन गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म भेटिएका ३४८ शवमध्ये ३३५ वटाको व्यवस्थापन गरिएको छ भने १२ वटाको सनाखत भएको छ । एउटाको व्यवस्थापन गर्न बाँकी छ । जिल्लामा शव व्यवस्थापन गर्न कठिन भएपछि डिएनए सङ्कलन गरेर शनिबारदेखि जङ्गलमा लगेर खाडलमुनि शव राख्न थालिएको हो ।
प्रहरीले शनिबार ९६ शवको व्यवस्थापन गरेको थियो । आइतबार १०३, सोमबार ८१ र मङ्गलबार ५५ शव व्यवस्थापन गरेको हो । जमिनमुनि व्यवस्थापन गरिएकामध्ये सबैभन्दा बढी लिङ्ग पहिचान नभएका १२९ वटा शव छन् । त्यस्तै पुरुष १०७, महिला ७३, बालिका १५ र बालक ११ जना रहेको प्रहरीले जानकारी दिएको छ ।
शवहरूको डिएनए नमूना सुरक्षित राख्दै जङ्गलमा व्यवस्थापन गरिएको प्रमुख प्रहरी उपरीक्षक पौडेलले बताउनुभयो । सनाखत भएका शव परीक्षणपछि परिवारले बुझेर लगेका छन् । नदी किनारमा शव फेला पर्ने क्रम जारी छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई संयुक्त रूपमा खोजी तथा व्यवस्थापनमा परिचालन गरिएको छ ।
शव पहिचानका लागि डिएनए नमूना सङ्कलन सुरु
भोटेकोशी नदीमा आएको बाढीपछि फेला परेका शवको पहिचानका लागि चितवनमा डिएनए परीक्षणका लागि आफन्तको नमूना सङ्कलन सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालयले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला, भक्तपुर सेवा इकाइ र जनस्वास्थ्य कार्यालयको सहयोगमा भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग सङ्घको परिसरमा मङ्गलबारदेखि डिएनए नमूना सङ्कलन सुरु गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवले बिहान ९ः०० देखि साँझ ५ः०० बजेसम्म नमूना सङ्कलन भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार शवसँग पहिलो तहको नाता पर्ने आफन्त अर्थात् बुबा, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाको रगतको नमूना डिएनए परीक्षणका लागि सङ्कलन गरिनेछ । उहाँले डिएनए नमूना दिन आउने व्यक्तिलाई आफ्नो पहिचान खुल्ने आधिकारिक कागजात र दुईप्रति पासपोर्ट आकारका फोटो साथमा ल्याउन अनुरोध गर्नुभयो ।
डिएनए नमूना सङ्कलन र परीक्षणको प्राविधिक प्रक्रियाबारे जानकारी दिँदै नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालाका प्रहरी निरीक्षक सन्देशकुमार पोखरेलले हराइरहेका व्यक्तिको पहिचानका लागि शवबाट मुख्य रूपमा दाँत र हड्डीका नमूना सङ्कलन गरिएको बताउनुभयो । ती नमूनाबाट डिएनए प्रोफाइल तयार गरिन्छ र त्यसलाई आफन्तबाट सङ्कलन गरिएको डिएनएसँग म्याचिङ गरी पहिचान गरिन्छ ।
उहाँले भन्नुभयो, “पहिलो प्राथमिकतामा बुबाआमा वा छोराछोरीको डिएनए नमूना आवश्यक पर्छ । यदि पहिलो तहका आफन्त उपलब्ध नभए दाजुभाइ वा दिदीबहिनीको नमूना प्रयोग गरेर पनि परीक्षण गर्न सकिन्छ।”
नेपालको प्रयोगशालाको क्षमताका साथै वैदेशिक सहयोगसमेत परिचालन गरेर कम्तीमा १२ हप्ता अर्थात् तीन महिनाभित्र सबै नमूनाको परीक्षण र डिएनए म्याचिङ सम्पन्न गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।
प्रहरीका अनुसार चितवन बाहिर रहेका आफन्तले पनि आफू बसेको जिल्लाको जिल्ला प्रहरी कार्यालयमा पुगेर डिएनए नमूना दिन सक्ने व्यवस्था गरिएको छ । विदेशमा रहेका आफन्तका लागि पनि डिएनए नमूना उपलब्ध गराउने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ । हराइरहेका व्यक्तिका विदेशमा रहेका पहिलो तहका आफन्तले सम्बन्धित देशस्थित नेपाली दूतावास वा कूटनीतिक नियोगमार्फत अथवा नेपाल प्रहरीको आधिकारिक वेबसाइटमार्फत आफ्नो डिएनए प्रोफाइलको ‘सफ्ट कपी’ पठाई परीक्षण प्रक्रियामा सहभागी हुन सक्नेछन् ।
अस्थायी शव भण्डारणस्थलमा दीप प्रज्ज्वलन
शवहरूको व्यवस्थापन गरिएको भरतपुर–१ देवघाटस्थित जङ्गलमा मङ्गलबार साँझ दीप प्रज्ज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, अस्पतालका प्रमुख तथा सर्वसाधारणको सहभागिता रहेको थियो । विभिन्न समुदायका नागरिकले पनि दीप प्रज्ज्वलन गरी हालसम्म यहाँ व्यवस्थापन गरिएका ३३८ मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
रामजानकी बालिका आश्रम देवघाटका कन्याहरूले गीता पाठ गरी दिवङ्गत आत्माप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए । त्यसैगरी विभिन्न धार्मिक समुदायका प्रतिनिधिले पनि कार्यक्रममा सहभागी भई श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारी, प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले दीप प्रज्ज्वलन गर्दै दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभयो । यस स्थान ‘अन्तिम संस्कार’ नभई पहिचान नहुन्जेलका लागि अपनाइएको ‘अस्थायी व्यवस्थापन’ मात्र भएको स्पष्ट पारिएको थियो । यो क्षेत्र १२ वर्षसम्म अस्थायी शवस्थलका रूपमा रहने जनाइएको छ । रासस

