२०८३ भाद्र ११, बिहीवार

भोटेकोशी-रसुवा बाढी : १६५ जनाको शव फेला पर्यो, सुरक्षाकर्मीसहित ५७९ जना बेपत्ता

       
  • रसुवा बाढीमा हालसम्म १६५ जनाको शव फेला पर्यो ।
  • ५७९ यात्रु जना, १२३ जनाको हवाई उद्धार ।
  • ३५ मोटरेबल पुल, ४५ झोलुङ्गे पुल र ४० किमी सडकमा क्षति ।

भिओके समाचार/काठमाण्डू । रसुवास्थित भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा हालसम्म १६५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा सुरक्षाकर्मीसहित ५७९ जना बेपत्ता छन् ।

प्राधिकरणका अनुसार धादिङमा २७, नुवाकोटमा १२, रसुवामा २, गोरखामा २०, नवलपरासी पूर्वमा २६, तनहुँमा ९, चितवनमा ६४ र नवलपरासी पश्चिममा ५ जनाको शव फेला परेको छ ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढी प्रभावित क्षेत्रमा कार्यरत नेपाली सेनाका ४४, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरी बल नेपालका १३ जना सुरक्षाकर्मी सम्पर्कविहीन छन् ।

बाढी प्रभावित रसुवाको टिमुरेबाट १२३ जनाको हवाई उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ९४ जना नेपाली र २९ जना विदेशी नागरिक छन् ।

नेपाल पर्यटन बोर्डका अनुसार प्रभावित क्षेत्रबाट प्राप्त प्रारम्भिक विवरणमा ४६६ जना विदेशी र ११३ जना नेपाली यात्रु बेपत्ता भएका छन् ।

बाढीबाट ३५ वटा मोटरेबल पुल, ४५ वटा झोलुङ्गे पुल र करिब ४० किलोमिटर सडकमा क्षति पुगेको प्राधिकरणले जनाएको छ । मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको छ भने प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी छ ।

Facebook Comments