रसुवा बाढी प्रभावितको उद्धार र पुनर्निर्माणमा भारत, चीन र विश्व बैंकको सहयोग प्रतिबद्धता
काठमाण्डू । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा पुनर्निर्माणका लागि भारत, चीन र विश्व बैंकले आर्थिक तथा राहत सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयका अनुसार बाढी प्रभावितको उद्धार र पुनर्निर्माणका लागि भारत, चीन र विश्व बैंकले तत्काल समन्वय अघि बढाएका छन् ।
विश्व बैंकका राष्ट्रिय निर्देशक डेविड सिस्लेनले अर्थमन्त्री वाग्लेसँगको कुराकानीमा विभिन्न स्रोतबाट आपत्कालीन सहयोगस्वरूप नेपाललाई २५ अर्ब रुपैयाँसम्म सहयोग गर्न सकिने जानकारी दिनुभएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।
छिमेकी भारतले बाढीपीडितका लागि तत्काल आवश्यक राहत सामग्रीको सूची सरकारसँग मागेको छ । प्रधानमन्त्री, अर्थमन्त्रीलगायत वरिष्ठ मन्त्रीसँग समन्वय गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय सहयोग सामग्री आजै काठमाडौँ ल्याउने तयारी भइरहेको बताउनुभयो ।
त्यस्तै, चीनले पनि तत्काल नगद सहयोग गर्ने भएको छ । रकम पठाउने प्रक्रिया सुरु गर्न चिनियाँ राजदूत जाङ माओमिङले अर्थमन्त्रीमार्फत नेपाल सरकारलाई आग्रह गर्नुभएको जनाइएको छ ।
अर्थमन्त्री वाग्लेले छिमेकी मुलुक र दातृ निकायबाट प्राप्त सहयोगको प्रतिबद्धताप्रति सरकारका तर्फबाट आभार व्यक्त गर्नुभएको छ । सहयोगको मोडालिटीबारे अन्तरसरकारी समन्वय गरी छलफल भइरहेको उहाँको सचिवालयले जनाएको छ ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले रसुवा, नुवाकोट र धादिङका प्रभावित पालिकालाई ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरेपछि घरेलु तथा बाह्य सहयोग जुटाउने बाटो खुलेको हो । रासस

