२०८३ भाद्र ८, सोमवार

काठमाण्डूमा “छिङहाई-सिचाङ रेलमार्ग” विशेष वृत्तचित्र प्रदर्शन

       

रमेश हुतवाली/विराटनगर । रे टेलिभिजन एचडी काठमाण्डूले छिङहाई-सिचाङ रेलमार्ग सम्बन्धि विशेष वृत्तचित्र प्रदर्शन गरेको छ । काठमाण्डू धापासीस्थित गोधुली फुडल्याण्डमा आज साँझ एक भव्य समारोहबीच सो वृत्तचित्र प्रदर्शन गरिएको हो । चीनको सिचाङ (तिब्बत) मा अत्याधुनिक रेल सेवा सञ्चालन भएको २० औं वार्षिकोत्सवका अवसरमा उक्त वृत्तचित्र प्रदर्शन गरिएको रे टेलिभिजनका अध्यक्ष प्रकाश बाबु पौडेलले जानकारी दिनुभयो ।

वृत्तचित्र प्रदर्शन समारोहलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष पौडेलले सो रेलमार्ग निर्माण गर्दा चीनले सिचाङको पर्यावरण, वन्यजन्तु र संस्कृतिको संरक्षणमा विशेष ध्यान दिएको बताउनुभयो । वृत्तचित्रका माध्यमबाट सिचाङको विगत र वर्तमान अवस्थाबारे थुप्रै अनुभवहरु हासिल गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।

प्रकाश बाबु पौडेल, अध्यक्ष, रे टेलिभिजन

छिङहाई–सिचाङ रेलमार्ग सम्बन्धि विशेष वृत्तचित्रबारे बताउनुहुँदै चीनका लागि पूर्व नेपाली राजदूत विष्णु पुकार श्रेष्ठले विज्ञानको सहायता लिएर प्रकृतिलाई परिवर्तन गर्न सकिन्छ भन्ने कुरा चिनियाँ जनताले प्रमाणित गरेको बताउनु भयो । पूर्व राजदूत श्रेष्ठले ३०÷४० वर्ष अघिको चीन र अहिलेको चीनमा थुप्रै भिन्नता पाईने भन्दै चीनबाट सिक्ने धेरै कुराहरु रहेको जानकारी दिनुभयो । पछिल्ला वर्षहरुमा चीनले विज्ञान प्रविधि, अर्थतन्त्र र नवप्रवर्तन लगायतका धेरैमा महत्वपूर्ण विकास गरेको पनि बताउनु भयो । छिङहाई–सिचाङ रेलमार्ग सम्बन्धि वृत्तचित्रले चीनले गरेका अनौठा विकास निर्माणबारे जानकारी लिन सकिने भन्दै पूर्वराजदूत श्रेष्ठले वृत्तचित्र निर्माण र प्रदर्शनका लागि सीजिटिएन नेपाली सेवा र रे टेलिभिजलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

विष्णु पुकार श्रेष्ठ, चीनका लागि पूर्व नेपाली राजदूत

सीआरआई नेपाली विभागका पूर्व भाषा विशेषज्ञ कृष्ण केसीले छिङहाई–सिचाङ रेलमार्ग निर्माणका क्रममा पश्चिमी विशेषज्ञहरुले सो परियोजना पुरा हुन नसक्ने भनिरहेको समयमा पनि चीनले कडा मेहनत र दूरदर्शी दृष्टिले संसारलाई आश्चर्यमा पार्ने हिसावबाट परियोजना पुरा गरेको जानकारी दिनुभयो ।

कृष्ण केसी, पूर्व भाषा विशेषज्ञ, सीआरआई नेपाली विभाग

समारोहलाई सम्बोधन गर्नुहुँदै चाईना मिडिया ग्रुप काठमाण्डू ब्यूरोका प्रमुख चाङ युए वर्षाले छिङहाई–सिचाङ रेलमार्ग निर्माणताका आफु र आफ्ना साथीहरुले रेलमार्गबारे थुप्रै समाचार र रिपोर्टहरु बनाएको जानकारी दिनुभयो । चीनको विकास चिनियाँ जनताको मात्र नभएर सारा विश्वको विकास भएको बताउनुहुँदै उहाँले पछिल्ला वर्षहरुमा नेपालले पनि विकास निर्माणको क्षेत्रमा ठूलो प्रगति हासिल गरेको धारणा व्यक्त गर्नुभयो । छिङहाई–सिचाङ रेलमार्ग सम्बन्धि वृत्तचित्र हेरेर नेपाली जनताले पनि विकास गर्ने चिनियाँ तरिकाबारे बुझ्नु आवश्यक हुने उहाँको भनाई छ ।

चाङ युए (वर्षा), प्रमुख, चाईना मिडिया ग्रुप, काठमाण्डू ब्यूरो

न्यूज एजेन्सी नेपाल (नान) का अध्यक्ष सविन धमलाले छिङहाई–सिचाङ रेलमार्गको निर्माण आफैमा अनौठो र विश्लाई चकित पार्ने विकास भएको बताउनु भयो । रेलमार्ग निर्माणको समयमा तिब्बतको पर्यावरण र संस्कृतिको संरक्षण प्रमुख चुनौतीको रुपमा देखिएको भए पनि चीन सरकारले त्यसलाई वुद्धिमतापूर्वक समाधान गरेको जानकारी दिनुभयो ।

सविन धमला, अध्यक्ष, न्यूज एजेन्सी नेपाल (नान)

रे टेलिभिजनका स्टेशन म्यानेजर तथा कार्यक्रम सञ्चालक रोशन केसीले छिङहाई–सिचाङ रेलमार्ग सम्बन्धि विशेष वृत्तचित्र हेरेपछि सहभागीहरुले सो वृत्तचित्रका माध्यमबाट चीनको पछिल्लो चरणको विकास निर्माण र तिब्बतमा रेल सेवा सञ्चालन भएपछि स्थानीय जनतामा परेको सकारात्मक प्रभाव बारे जानकारी लिन पाएकोमा खुशी व्यक्त गरेका छन् । स्टेशन म्यानेजर केसीले आगामी दिनहरुमा पनि चाईना मिडिया ग्रुपसँग मिलेर दुई देशबीचको सम्बन्धलाई जनस्तरसम्म अभिवृद्धि गर्ने विभिन्न वृत्तचित्र तथा अन्य कार्यक्रमहरु निर्माण गर्ने योजना रहेको पनि बताउनु भयो ।

रोशन केसी, स्टेशन म्यानेजर, रे टेलिभिजन

वृत्तचित्र प्रदर्शन समारोहमा कुटनीतिज्ञ, मैत्री संस्थाका प्रतिनिधिहरु, समाजसेवी, राजनीतिकर्मी, व्यवसायी, विद्यार्थी, शिक्षक र सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

Facebook Comments