प्रधानमन्त्री शाह शनिबार मुस्ताङ आउनुहुँदै
मुक्तिनाथ (मुस्ताङ) । प्रधानमन्त्री वालेन्द्र शाह हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको प्रमुख तीर्थस्थल मुक्तिनाथ मन्दिरको दर्शनका लागि शनिबार मुस्ताङ आउने कार्यक्रम रहेको छ। उहाँको भ्रमणको सूचना प्राप्त भएसँगै जिल्लामा आवश्यक तयारी तथा सुरक्षा व्यवस्था कडा पारिएको छ।
सडकमार्ग हुँदै हिजो शुक्रबार काठमाण्डूबाट पोखरा पुग्नुभएका प्रधानमन्त्री शाह शनिबार मुस्ताङतर्फ प्रस्थान गर्ने जानकारी प्राप्त भएको छ। उहाँ कास्कीको माछापुच्छ्रे गाउँपालिका–६, अस्तामस्थित अन्नपूर्ण इको भिलेजबाट बिहान ९ः३० बजे सडकमार्ग हुँदै मुस्ताङतर्फ प्रस्थान गर्नुहुनेछ।
प्रधानमन्त्री शाहको यो निजी तथा पारिवारिक भ्रमण भएकाले अनौपचारिक सूचनाका आधारमा मुस्ताङको प्रवेशद्वार घाँसादेखि नै सुरक्षा व्यवस्था कडा बनाइएको छ। कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम सडकखण्डको म्याग्दी क्षेत्रमा जिल्ला प्रशासन कार्यालय म्याग्दीले आवश्यक सुरक्षा तयारी गरेको छ भने मुस्ताङतर्फ पनि सुरक्षा व्यवस्था सुदृढ पारिएको छ।
यसैबिच प्रधानमन्त्री शाह शनिबार जोमसोममा बसोबास गरी आइतबार बिहान मुक्तिनाथ मन्दिरमा दर्शन गर्न जाने जानकारी प्राप्त भएको मुक्तिनाथ मन्दिर व्यवस्थापन समितिका कार्यालय प्रमुख दिनेश भुसालले बताउनुभयो।
उहाँले भन्नुभयो, “प्रधानमन्त्री आउने सूचना पाएपछि हामी तयारीमा जुटेका छौँ। विशेष पूजा गर्न चाहनुभयो भने त्यसका लागि पनि आवश्यक सबै तयारी गरिएको छ।”
समुद्री सतहदेखि ३ हजार ६१० मिटर उचाइमा अवस्थित मुक्तिनाथ मन्दिर परिसरमा प्रधानमन्त्री शाहका लागि दर्शन, पूजापाठ तथा स्नानस्थल व्यवस्थापनको तयारी गरिएको छ। साथै, सचिवालयका प्रतिनिधिमार्फत आवश्यक समन्वय गरी मन्दिरबाट हालसम्म भएका कार्य तथा योजनाबारे जानकारी गराउने तयारी समेत गरिएको समितिले जनाएको छ।
प्रधानमन्त्री शाहको भ्रमणले धार्मिक पर्यटन प्रवर्द्धन हुनुका साथै मुक्तिनाथ क्षेत्रका समस्या समाधानमा समेत सकारात्मक सहयोग पुग्ने अपेक्षा समितिले गरेको छ। गोरखापत्र अनलाईन

