२०८३ भाद्र ५, शुक्रवार

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक : अर्थमन्त्री वाग्ले

       

भिओके समाचार/काठमाण्डू । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा उत्पादन तथा बजारीकरण गर्न आवश्यक कानुनी व्यवस्था भए अर्थ मन्त्रालयले सहजीकरण गर्ने बताउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा सांसद विष्णुकुमारी सापकोटाको प्रश्नको जवाफ दिँदै उहाँले गाँजा उत्पादन तथा बजारीकरणलाई आय, रोजगारी र सम्भावित राजस्वको विषयमा मात्र सीमित गरेर हेर्न नहुने बताउनुभयो । गाँजा औषधिजन्य तथा लागुपदार्थका रूपमा नियन्त्रित विषय भएकाले विज्ञको अध्ययन र निष्कर्षका आधारमा आवश्यक कानुनी व्यवस्था गर्नुपर्ने उहाँको भनाइ थियो ।

“गाँजा उत्पादन तथा बजारीकरणको विषय आय, रोजगारी तथा सम्भावित राजस्व सङ्कलनमा मात्र सीमित नभई औषधिजन्य तथा लागुपदार्थका रूपमा नियन्त्रित विषय हो । सम्बन्धित विज्ञबाट अध्ययन तथा निष्कर्ष भई कानुनबमोजिम व्यवस्थित गरिएमा अर्थ मन्त्रालय सहजीकरणका लागि तत्पर रहनेछ”, अर्थमन्त्री वाग्लेले भन्नुभयो ।

विकसित तथा पश्चिमा मुलुकमा समेत गाँजाको प्रयोगसम्बन्धी खुलापन बढिरहेको उल्लेख गर्दै उहाँले नेपालले पनि यस विषयलाई सकारात्मक रूपमा अध्ययन गर्नुपर्ने बताउनुभयो । गृह मन्त्रालयसँग समन्वय गरी थप अध्ययन तथा निरीक्षण अघि बढाउने उहाँको भनाइ छ ।

“थप अध्ययन र निक्र्योल गरेर कानुनमै यसको व्यवस्था गर्न सकेमा अर्थ मन्त्रालयले सकारात्मक रूपमा हेर्नेछ । गृह मन्त्रालयसँग थप समन्वय गरेर तदारुकताका साथ यो विषयको निक्र्योल गर्न पहल गर्नेछु”, उहाँले भन्नुभयो ।

गाँजा उत्पादन तथा बजारीकरणलाई कानुनबमोजिम व्यवस्थित गर्न सके आय, रोजगारी, औद्योगिक प्रवर्द्धन र सरकारी राजस्व वृद्धिमा योगदान पुग्न सक्ने अर्थमन्त्री वाग्लेले बताउनुभयो ।

यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत आर्थिक वर्ष २०८३/८४ मा मन्त्रालय, आयोग, विभाग, कार्यालय तथा समितिसँग सम्बन्धित ऐन, नियम, कार्यविधि, निर्देशिका तथा मापदण्ड तर्जुमाका लागि प्रारम्भिक रूपमा रु. सात लाख विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।

सांसद भुवनबहादुर सुनारको प्रश्नको जवाफ दिँदै उहाँले आवश्यकताअनुसार उक्त रकम वृद्धि गर्न सम्बन्धित मन्त्रालयले रकमान्तर गर्न सक्ने बताउनुभयो । औचित्यका आधारमा थप विनियोजनका लागि अर्थ मन्त्रालयसँग माग भए आवश्यक रकम उपलब्ध गराउने उहाँले आश्वासन दिनुभयो ।

Facebook Comments