चीनले भूमिमा रकेट उतार्यो, पुनः प्रयोगयोग्य प्रविधिमा ठूलो सफलता
सिन्ह्वा समाचार एजेन्सीले जारी गरेको यो तस्बिरमा, झुक-३ वाई२ रकेटले बुधबार, अगस्ट १९, २०२६ मा उत्तरपश्चिमी चीनको डोङफेङ कमर्सियल स्पेस इनोभेसन पाइलट जोनमा उडान भरेको छ। (वाङ जियाङबो/सिन्ह्वा एपी मार्फत)
- झुक-३’ रकेटको पहिलो चरण सफलतापूर्वक पृथ्वीमा फर्काएर अवतरण ।
- चीनमा भूमिमा रकेट पुनःप्राप्तिको यो पहिलो सफल परीक्षण ।
- पुनःप्रयोगयोग्य रकेट प्रविधिबाट प्रक्षेपण लागत घटाउने लक्ष्य ।
पैचिङ । चीनले पहिलोपटक भूमिमा रकेटको पहिलो चरण सफलतापूर्वक पुनःप्राप्त गरेको छ । पुनःप्रयोग गर्न सकिने रकेट विकासमा तीव्रता दिइरहेको चीनका लागि यो महत्वपूर्ण उपलब्धि मानिएको छ ।
राज्य सञ्चारमाध्यमका अनुसार बुधबार प्रक्षेपण गरिएको ‘झुक-३’ रकेटको पहिलो चरण पृथ्वीमा फर्किएर सुरक्षित रूपमा अवतरण गरेको हो । यस क्रममा पहिलोपटक तैनाथ गर्न सकिने अवतरण खुट्टाको प्रयोग गरिएको सिन्ह्वाले जनाएको छ ।
यसअघि जुलाईमा चीनले समुद्री प्लेटफर्ममा रकेटको पहिलो चरण पुनःप्राप्त गरेको थियो । त्यसैले बुधबारको सफलता चीनले रकेटको पहिलो चरण पुनःप्राप्त गरेको दोस्रो अवसर हो भने भूमिमा गरिएको पहिलो सफल परीक्षण हो ।
रकेटको पहिलो चरण पुनःप्राप्त गरी पुनः प्रयोग गर्न सकिने प्रविधिले प्रक्षेपण लागत घटाउन सहयोग गर्छ । उपग्रह तथा अन्य सामग्री अन्तरिक्षमा पठाएपछि रकेटलाई फ्याँक्नुपर्ने अवस्थाको अन्त्य गर्दै एउटै हार्डवेयर पुनः प्रयोग गर्न सकिने भएकाले यस्तो प्रविधिलाई अन्तरिक्ष प्रक्षेपण सस्तो बनाउन महत्वपूर्ण मानिन्छ ।
यस क्षेत्रमा अमेरिकी कम्पनी स्पेसएक्स र ब्लु ओरिजिनले सन् २०१५ देखि रकेट पुनःप्राप्तिको प्रविधि प्रयोग गर्दै आएका छन् ।
चीनले गत जुलाई १० मा ‘लङ मार्च-१०बी’ रकेटको पहिलो चरण पनि सफलतापूर्वक पुनःप्राप्त गरेको थियो । प्रक्षेपणपछि पहिलो चरण दोस्रो चरणबाट अलग भएर समुद्री प्लेटफर्ममा फर्किएको थियो । त्यसबेला रकेटलाई जालोमा समात्ने ‘नेट-क्याप्चर’ प्रणाली प्रयोग गरिएको थियो ।
चीनसँगै जापानले पनि पुनःप्रयोग गर्न सकिने रकेट प्रविधिमा लगानी बढाइरहेको छ । जुलाई ११ मा जापानले प्रयोगात्मक पुनःप्रयोगयोग्य रकेटको पहिलो परीक्षण उडान गरेको थियो । उक्त रकेट उडानपछि सुरक्षित रूपमा अवतरण गर्न सफल भएको थियो ।
दुवै देशले प्रक्षेपण लागत घटाउँदै विश्वव्यापी अन्तरिक्ष बजारमा प्रतिस्पर्धा बढाउने उद्देश्यले पुनःप्रयोगयोग्य रकेट प्रविधिको विकासलाई प्राथमिकता दिएका छन् । एपी

