Fri. Sep 20th, 2024

सरकारद्वारा विश्वको दोश्रो ठूलो केटु हिमाल आरोहीहरूलाई सम्मान

- हिमाल आरोहण गर्नेहरूका लागि विशेष मानपदवी र विभूषण को व्यवस्था गरिने:प्रधानमन्त्री

काठमाडौं, २०७७ माघ १३ गते मंगलबार

विश्वको दोस्रो ठुलो शिखर माउन्ट केटुको कीर्तिमानी सफल आरोहण गरेर नेपाल फर्किएका आरोहीहरूलाई सरकारले सम्मान गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आरोहीहरूलाई दोसल्ला र प्रमाण पत्रद्वारा सम्मान गर्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले हिउँदे सिजनमा माउन्ट केटुको सफल आरोहण गरेर विश्व सामु नेपालको चिनारी र  पहिचानलाई थप उँचो बनाउने काम प्रशंसा योग्य भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले हिमाल आरोहण जो सुकैले गर्न नसक्ने भएकाले हिमाल आरोहण गर्नेहरूका लागि विशेष मानपदवी र विभूषण को व्यवस्था गरिने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले हिमाल आरोहणमा जाँदा सरकारलाई जानकारी गराए सक्दो सहयोग गर्ने  बताउनु हुँदै हिमाल आरोहण सावधानीपूर्वक गर्न पनि आह्वान गर्नुभयो ।

कार्यक्रममा केटु हिमाल आरोहीको नेतृत्व गर्नुभएका निर्मल पूर्जाले देशको चिनारीका लागि आफूहरूले हिमाल चढ्ने गरेको भए पनि कहीँ कतैबाट सहयोग नपाएको गुनासो व्यक्त गर्नुभयो ।

आठ हजार ८४८ दशमलव ८६ मिटर अग्लो विश्वको सबैभन्दा अग्लो हिमाल ‘सगरमाथा’सहित हिमाल आरोहण गरेर अदम्य साहस प्रस्तुत गरी आरोहीले विश्व कीर्तिमान बनाएका छन् । सन् १९५३ मा नेपाली तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथाको सफल आरोहण गरी विरताको गाथा प्रस्तुत गरेयता पछिल्लो पटक कामीरिता शेर्पाले अघिल्लो वसन्तकालीन याममा २४ औँ पटक सगरमाथा आरोहण गरी कीतिमान कायम गरेका छन् । यसरी कसैले बिना अक्सिजन, कतिपयले कम उमेरमा धेरै पटक सगरमाथा आरोहण गरेका धेरै विश्व रेकर्ड छन् ।

माउन्ट केटु म पनि जान पाएको भए…    

प्रधानमन्त्री ओलीले ठट्यौली पारामा हिमाल आरोहण जोखिमपूर्ण भएको र जो कोहीले आरोहण गर्न नसक्ने जनाउँदै सहज भएको भए आफू पनि आरोहणमा जान सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “आरोहण मुस्किल छ, कठिन छ, सजिलो भएको भए त प्रधानमन्त्री पनि यो टिममा हुन्थ्यो, १० जनामा ११ हुन्थ्यो, प्रधानमन्त्री नै आरोहणमा गएपछि अझ बढी धुमधाम हुन्थ्यो होला, त्यो दुस्साहस आफूले गरेको भए फर्केर न आउने थिए होला ।

प्रधानमन्त्री ओलीले कीर्तिमान राख्ने गरी हिमाल चढ्न जाँदा सरकारलाई औपचारिक जानकारी गराएमा राज्यका तर्फबाट उचित सहयोग गरिने वचन दिनुभयो । “यति ठूलो काममा जाँदा सरकारलाई पनि जानकारी गराउनुहोस्, धेरै नसकौँला, गच्छेअनुसार सहयोग गर्न सरकार तत्पर छ”, उहाँले भन्नुभयो ।

जीवनकै जोखिम मोलेर विश्वकै कठिन हिमालको सफल आरोहण गरी फर्केका आरोहीको स्वागत तथा सम्मान गर्दै उहाँले आरोहणले देशको पहिचानलाई बढाउनाका साथै नेपाल साँच्चिकै बहादुरहरुको देश भएको पुष्टि गरेको बताउनुभयो ।

सबै पर्वतारोही साहसका प्रतीक हुन् भन्दै प्रधानमन्त्री ओलीले असाधारण साहसका साथ आरोहीले देखाएको बहादुरीपूर्ण कार्यको प्रशंसा गर्नुभयो । “निकै मेहनत र परिश्रमका साथ केटूजस्तो कठिन हिमाल आरोहण सफलता प्राप्त गर्नु देश र सरकारकै तर्फबाट हार्दिक स्वागत र बधाई ज्ञापन गर्दछु, तपाईंहरुको यो साँच्चिकै प्रशंसायोग्य काम हो”, उहाँले भन्नुभयो ।

पर्यटक आवागमनलाई सहज बनाइने    

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले असहज परिस्थिति भए पनि आरोहीले अदम्य साहसका साथ नेपालको इतिहास लेखाउने कार्यमा सफलता प्राप्त गरेकामा सरकारका तर्फबाट सम्मान व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यो सफलताले हरेक अप्ठयारा कुनै काम बाँकी छन् भने त्यो नेपालीले मात्रै गर्न सक्छन् भन्ने केटू हिमालको आरोहणको सफलताले पुष्टि गरेको छ ।”

आरोहीको योगदानलाई राज्यले उच्च सम्मानका साथ आगामी दिनमा प्रवद्र्धन गर्ने नीति लिएको उल्लेख गर्दै मन्त्री ढकालले साहसिक कार्यको योगदानलाई राज्यले उचित मूल्याङ्कन गरी आरोहीको संरक्षणमा विशेष ध्यान दिने बताउनुभयो ।

उहाँले कोभिड-१९ बाट सबैभन्दा बढी प्रभावित मुलुकको पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउन अन्तरमन्त्रालय छलफल गरी ठोस कदम चालिने तथा पर्यटन प्रवद्र्धन तथा उत्साहका साथ गतिविधि बढाउन पनि सरकारले सबैखाले प्रयास गरिरहेको बताउनुभयो । विदेशी पर्यटक आवागमनलाई सहज तुल्याउन ‘अनअराइभल’ प्रवेशाज्ञाको व्यवस्था तथा हालको स्वास्थ्य मापदण्डलाई खुकुलो बनाउनेतर्फ पनि सरकारले आवश्यक गृहकार्य गरिरहेको उहाँले जानकारी दिनुभयो ।

कीर्तिमानी आरोही निर्मल पुर्जाले माइनस ६५ डिग्र्री सेल्सियस तापक्रममा अनेक दुःख र कष्टका साथ केटूको शिखर पुगेर नेपालको शानलाई उँचो बनाउन पाएकामा गौरवको महसुस भएको बताउनुभयो । “खासमा यो पटक केटू आरोहण जाने कुनै योजना थिएन तर समाचार हेर्दा कतिपय देशका आरोहीले केटू आरोहण गरी उनीहरुको नाममा लाने भन्ने सुनेपछि फटाफट झोला बोकेर आरोहणमा हिँडियो, किनकी यो समयमा हामीले हाम्रो हक लिन सकिएन भने भविष्यमा सकिँदैन भन्ने निष्कर्षका साथ आरोहण यात्रामा लागियो”, उहाँले भन्नुभयो ।

नेपाल पर्यटन बोर्डले आयोजना गरेको आरोही सम्मान कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, पर्यटनमन्त्रालयका सचिव यादवप्रसाद कोइराला तथा पर्यटन क्षेत्रका अगुवा संस्थाका प्रतिनिधि, आरोही, पर्यटन व्यवसायीलगायतको सहभागिता थियो ।

सोही अवसरमा केटू आरोहणमा लगेको नेपालको राष्ट्रिय झण्डा आरोही टोलीले प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको थियो । प्रधानमन्त्री ओलीले आरोहणमा लगिएको झण्डालाई आरोहीको नाम राखेर सुरक्षित ढङ्गले राखिने बताउनुभयो ।

पुर्जासहित १० नेपाली आरोही समूहले केटू आरोहणमा कीर्तिमान कायम गरेका हुन् । पाकिस्तान र चीनको सिमानामा अवस्थित आठ हजार ६११ मिटर अग्लो केटूको जाडो याममा आरोहण गर्ने विश्वकै पहिलो आरोही बन्न सफल भएका छन् । निर्मलसँगै मिग्माडेभिड शेर्पा, मिङ्मा तेन्जिङ शेर्पा, ग्याल्जेन शेर्पा, पेमाचिरी शेर्पा, दावाछिरी शेर्पा, किलु शेर्पा, मिङमा जी, दावातेन्जिङ शेर्पा र सोना शेर्पा टोलीले केटू हिमाल आरोहण गरेको हो । नेपाली आरोही समूह यही माघ ३ राति १ बजे केटूको शिखरमा पुगेको थियो । चुचुरामा नेपालको राष्ट्रिय गानका साथ नेपाली झण्डा फहराइएको थियो ।  गोरखापत्र / रेडियो नेपाल

Facebook Comments