Sat. Jul 25th, 2026

रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै

       

युक्रेन-बेलारुस सीमाक्षेत्र । रुसले बेलारुसको भूमिबाट युक्रेनमाथि आक्रमण सुरु गरेको चार वर्षभन्दा बढी समय बितिसक्दा पनि युक्रेनले मस्कोको निकट सहयोगी राष्ट्रसँग जोडिएको आफ्नो उत्तरी सीमालाई थप सुदृढ बनाइरहेको छ ।

कुनै समय दुई देशबिच सर्वसाधारणको आवतजावत हुने व्यस्त सीमा क्षेत्र अहिले बन्द क्षेत्र, सुरक्षा अवरोध र बारुदी सुरुङले भरिएको संवेदनशील भूभागमा परिणत भएको छ । एक हजार ८४ किलोमिटर लामो युक्रेन-बेलारुस सीमामा रहेका सडक लामो दूरीसम्म ड्रोन रोक्ने जालीले ढाकिएका छन् । सीमा क्षेत्रमा धारिलो तारका बार र ‘ड्र्यागन टिथ’ भनिने ट्याङ्कविरोधी कङ्क्रिट अवरोध पनि निर्माण गरिएका छन् ।

एसोसिएटेड प्रेस (एपी) ले यसै महिनाको सुरुमा उत्तरी युक्रेनको सीमावर्ती क्षेत्रको भ्रमण गरेको थियो । त्यस क्रममा युक्रेनले बेलारुससँग रुसले ड्रोनको पहुँच विस्तार गर्न तथा युक्रेनी सहरमा आक्रमण गर्न प्रयोग गरेका सञ्चार रिले स्टेसन बन्द गर्न माग गरेको जनाएको थियो । युक्रेनी अधिकारीका अनुसार बेलारुसले उक्त माग पूरा गरेपछि दुवै देशबिचको तनाव केही कम भएको छ ।

यद्यपि, बेलारुसमा रुसी सैन्य उपस्थितिमा वृद्धि भएको स्पष्ट सङ्केत नदेखिए पनि युक्रेनले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सीमा सुरक्षा बलियो बनाउने कामलाई निरन्तरता दिएको छ । बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले आफ्नो देशमाथि आक्रमण नभएसम्म युद्धमा सेना पठाउने योजना नरहेको बताउँदै आउनुभएको छ ।

तर सीमा क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दा भने बेलारुस रुसको युद्धमा थप सङ्गलग्न हुन सक्ने सम्भावनाप्रति चिन्तित छन् । स्थानीयका लागि सीमा क्षेत्रमा निर्माण गरिएका सुरक्षा संरचना युद्धका सुरुवाती दिनको सम्झना मात्र होइन, भविष्यमा हुन सक्ने कुनै पनि परिस्थितिका लागि युक्रेनको तयारीको सङ्केत पनि बनेका छन् ।

युक्रेनी सीमा सुरक्षाकर्मीले बख्तरबन्द सवारी साधन, ड्रोन र अन्य निगरानी प्रणाली प्रयोग गरी चौबीसै घण्टा गस्ती गरिरहेका छन् । अधिकारीका अनुसार बेलारुस रुसको सबैभन्दा नजिकको सैन्य साझेदार भएकाले सीमा क्षेत्रमा थप सुरक्षा संरचना निर्माण गर्ने कार्य आगामी दिनमा पनि प्राथमिकतामा रहने छ ।रासस/एपी

Facebook Comments