Fri. Jul 24th, 2026

दक्षिणी थाइल्यान्डमा आक्रमण, पाँच सैनिकको मृत्यु

       

बैङ्कक, साउन ७ गते । पृथकतावादी विद्रोहबाट प्रभावित दक्षिणी थाइल्यान्डमा सैनिक चौकीलाई लक्षित गरी गरिएको गोलीबारी र बम आक्रमणमा पाँच सैनिकको मृत्यु भएको छ । सेनाका अनुसार पछिल्ला केही वर्षयताकै सबैभन्दा घातक मध्ये एक मानिएको उक्त घटनामा छ जना सर्वसाधारण पनि घाइते भएका छन् । आक्रमण बुधबार साँझ मुस्लिम बहुल नारथिवाट प्रान्तको बुखे सामी सुरक्षा चौकीमा भएको हो ।

स्थानीय अधिकारीका अनुसार घाइते मध्ये खुट्टामा चोट लागेका १० वर्षीय बालकसमेत रहेका छन् । नारथिवाट प्रान्तका गभर्नर बुनचुए होम्यामिनले अस्पताल पुगेर घाइतेको अवस्थाबारे जानकारी लिनुभएको जनाइएको छ । नारथिबाट प्रशासनले सार्वजनिक गरेको सिसिटिभी तस्बिरमा साँझ करिब ६:४५ बजे कालो पोसाक लगाएका छ जना शङ्कास्पद व्यक्ति कालो पिकअप ट्रकमा घटनास्थल पुगेको देखिएको छ ।

घटनापछि उनीहरू छिमेकी जिल्लातर्फ फरार भएको र सुरक्षा निकायले व्यापक खोजी अभियान सञ्चालन गर्दै क्षेत्रलाई घेराबन्दी गरेको जनाएको छ । थाई सेनाका अनुसार टास्क फोर्स रेन्जर रेजिमेन्ट–४५ का सैनिक स्थानीय बासिन्दाको सुरक्षा गरिरहेका बेला आक्रमणकारीले चौकीमा अन्धाधुन्ध गोली चलाउनुका साथै पाइप बम प्रहार गरेका थिए र यसका कारण पाँच सैनिकको ज्यान गएको हो ।

घटनाको जिम्मेवारी अहिलेसम्म कुनै समूहले लिएको छैन भने कसैलाई पक्राउ पनि गरिएको छैन । थाइल्यान्डका दक्षिणी नारथिवाट, याला र पट्टानी प्रान्तमा सन् २००४ देखि पृथकतावादी विद्रोह जारी छ । मुस्लिम बहुल यी क्षेत्रमा बढी स्वायत्तताको माग गर्दै सक्रिय विद्रोही समूहसँगको हिंसात्मक द्वन्द्वमा हालसम्म सात हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

यसअघि सन् २०१९ मा याला प्रान्तको एक सुरक्षा चौकीमा ग्रेनेड र गोली आक्रमण हुँदा स्थानीय सुरक्षाकर्मीसहित १५ जनाको मृत्यु भएको थियो । द्वन्द्व सम्बन्धी तथ्याङ्क सङ्कलन गर्ने संस्था एसीएलइडीका अनुसार त्यस घटनामा बारिसन रिभोलुसी नेसनल (बीआरएन) संलग्न रहेको थाई अधिकारीहरूले बताएका थिए ।

एम्नेस्टी इन्टरनेसनलका मानवअधिकार अनुसन्धान कर्ता चानातिप तातियाकरुनवोङले यस क्षेत्रका अधिकांश आक्रमण सुरक्षाकर्मीलाई लक्षित हुने गरे पनि यसपटक सर्वसाधारण, विशेष गरी बालकसमेत घाइते हुनु र मानवीय क्षति बढी हुनु चिन्ताजनक भएको बताउनुभयो । थाई सेनाले मृत्यु भएका सैनिकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उनीहरूको सेवा र बलिदान सधैँ सम्मानका साथ स्मरण गरिने जनाएको छ ।

विपक्षी नेता नात्थाफोङ रुएङपान्यावुतले पनि घटनाको निन्दा गर्दै सरकारलाई सुरक्षा अवस्था तत्काल नियन्त्रणमा लिन, आक्रमणकारीको पहिचान गरी कानूनी कारबाही अघि बढाउन तथा पीडित र उनीहरूका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गर्नुभएको छ ।रासस/एएफपी

Facebook Comments