Wed. Jul 22nd, 2026

डा. पाण्डेको साधाना स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेल

       

काठमाण्डू । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डेको निधनमा दुःख व्यक्त गर्दै समवेदना व्यक्त गर्नुभएको छ ।

उहाँले आज पठाउनुभएको समवेदना सन्देशमास्व पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा रहेको उल्लेख गर्नुभएको छ । उहाँले नेपालमा लोकतन्त्र स्थापना र पुनःस्थापना तथा विभिन्न सङ्घर्ष र आन्दोलनहरूमा नागरिक अगुवाका रूपमा पाण्डेले निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिका सदा स्मरणीय रहिरहने बताउनुभएको छ ।

राष्ट्रपति पौडेलले २०३६ सालको जनमत संग्रहभन्दा केही महिनाअघि सरकारको सचिव पदबाट राजीनामा दिएर पाण्डेले नेपालको लोकतान्त्रिक आन्दोलनका नागरिक अगुवाका रूपमा २०४६ सालदेखि २०६२/६३ सालको आन्दोलनमा दिनुभएको नेतृत्वदायि भूमिका आफ्नो मानसपटलमा अझै ताजा रहिरहेको उल्लेख गर्नुभएको छ ।

समवेदना सन्देशमा राष्ट्रपति पौडेलले भन्नुभएको छ– “२०३६ साल यताको करिब साँढे ४ दशक अवधिमा उहाँको जुन भूमिका र योगदान रह्यो, त्यसले आफ्नो क्षेत्र र धारबाट राष्ट्र निर्माणमा योगदानकर्ता मानक व्यक्तित्वका रूपमा भावि पुस्ताले स्मरण गरिरहनेछन् भन्ने मलाई लागेको छ । उहाँको निष्ठा, आचरण र नैतिक जीवनले नेपाली समाजलाई सबै आलोकित गरिरहने मैले विश्वास लिएको छु ।”

राष्ट्रपति पौडेलले पाण्डेको निधनले नेपालको लोकतान्त्रिक आन्दोलनमा अपुरणीय क्षति पुग्नुका साथै मुलुकले निर्भिक र सत्यको पक्षपाती निष्ठावान लोकतन्त्रवादी नागरिक अगुवा गुमाएको बताउनुभएको छ । राष्ट्रपति पौडेलको समवेदना सन्देश उहाँका प्रेस सल्लाहकार किरण पोखरेल तथा प्रमुख स्वकिय सचिव अवज्ञा पौडेलले पाण्डेको निवास विशालनगर पुगेर हस्तान्तरण गर्नुभएको थियो । क्यान्सरबाट पिडित पाण्डेको यही साउन १ गते शुक्रबार आफ्नै निवास विशालनगरमा निधन भएको थियो ।

Facebook Comments