रुस–उत्तर कोरिया सम्बन्ध सुदृढ बनाउने प्रयास, पुटिन र चोबीच उच्चस्तरीय वार्ता
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाली विदेशमन्त्री चो सोन हुईसँग भेटवार्ता गर्नुभएको छ । रुसी सरकारी सञ्चारमाध्यमका अनुसार, दुई देशबीचको पछिल्लो उच्चस्तरीय कूटनीतिक भेटका क्रममा पुटिनले युक्रेनविरुद्धको युद्धमा प्योङयाङले गरेको समर्थनप्रति धन्यवाद व्यक्त गर्नुभएको छ ।
कुनै बहुपक्षीय कूटनीतिक कार्यक्रम वा राष्ट्रिय उत्सवको अवसरबिना नै भएको चोको रुस भ्रमणले उत्तर कोरियाली नेता किम जोङ उनको सम्भावित रुस भ्रमणको तयारीबारे अड्कलबाजी बढाएको छ । उत्तर कोरियाली सञ्चारमाध्यमका अनुसार चो रुसी विदेशमन्त्री सर्गेई लाभरोभको निमन्त्रणामा शनिबार रुस पुग्नुभएको हो । यद्यपि, भ्रमणको उद्देश्यबारे भने प्योङयाङले विस्तृत जानकारी दिएको छैन ।
दक्षिण कोरियाको एकीकरण मन्त्रालयका प्रवक्ता युन मिन होले सोमबार सोलले यी भेटवार्तालाई नजिकबाट नियालिरहेको बताउनुभएको छ । तर, मस्को र प्योङयाङबीच नेतास्तरीय अर्को शिखर बैठकबारे छलफल भइरहेको छ वा छैन भन्ने विषयमा उहाँले टिप्पणी गर्न अस्वीकार गर्नुभयो ।
रुसी समाचार संस्था ‘टास’का अनुसार, क्रेमलिनमा भएको भेटमा पुटिनले दुई देशबीचको सम्बन्धलाई प्रशंसा गर्दै युक्रेनमा जारी सैन्य कारबाहीका क्रममा सहयोग गरेकोमा उत्तर कोरियाली नेतृत्व र जनताप्रति कृतज्ञता व्यक्त गर्नुभयो । जवाफमा चोले किम जोङ उनले रुससँगको सम्बन्धलाई समग्र रूपमा विकास गर्न प्रतिबद्ध रहेको बताउनुभएको थियो ।
किमले यसअघि सन् २०१९ र सन् २०२३ मा पुटिनसँग शिखर वार्ताका लागि रुस भ्रमण गर्नुभएको थियो । सन् २०२४ जुनमा पुटिनको प्योङयाङ भ्रमणका क्रममा दुई नेताले रणनीतिक साझेदारीसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्दै कुनै पनि पक्षमाथि आक्रमण भएमा पारस्परिक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
पछिल्ला वर्षहरूमा उत्तर कोरियाले रुससँगको सम्बन्धलाई प्राथमिकता दिँदै आएको छ । किम प्रशासनले युक्रेन युद्धमा रुसलाई सैनिक तथा हतियार सहयोग उपलब्ध गराएको आरोप लाग्दै आएको छ । त्यसको बदलामा उत्तर कोरियाले आर्थिक सहयोग र सैन्य प्रविधि प्राप्त गरिरहेको हुन सक्ने विज्ञहरूले बताएका छन् ।
यसैबीच, किमले चीनसँग पनि सम्बन्ध सुदृढ बनाउने प्रयास जारी राख्नुभएको छ । गत जुनमा उहाँले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग प्योङयाङमा भेटवार्ता गर्नुभएको थियो । उत्तर कोरियाले अमेरिका र उसका सहयोगी राष्ट्रहरूको प्रभावको प्रतिरोध गर्ने उद्देश्यले रुस र चीनसँगको सहकार्यलाई विस्तार गरिरहेको विश्लेषण गरिएको छ ।
रुस भ्रमणअघि उत्तर कोरियाका उच्च अधिकारीहरूले चीन भ्रमण गरेका थिए । उत्तर कोरियाली मन्त्रिपरिषद्का प्रमुख पाक थे सोङले बेइजिङमा सीसँग भेटवार्ता गर्नुभएको थियो । भने चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेता वाङ हुनिङले प्योङयाङ पुगेर किमसँग छलफल गर्नुभएको थियो ।
सन् २०१९ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको आणविक वार्ता असफल भएपछि किमले अमेरिका र दक्षिण कोरियासँगको संवाद लगभग रोक्दै आउनुभएको । उहाँले युक्रेन युद्धलाई आफ्नो आणविक हतियार तथा क्षेप्यास्त्र कार्यक्रम विस्तार गर्ने अवसरका रूपमा प्रयोग गरिरहेको आरोप लाग्दै आएको छ । अर्कोतर्फ, अमेरिकाले उत्तर कोरियासँगको वार्ताका लागि आणविक निशस्त्रीकरणलाई प्रमुख सर्त बनाउँदै आएको छ । रासस/एपी

