बागमती सरकारबाट एमाले बाहिरिने
मकवानपुर । बागमती प्रदेश सरकारबाट नेकपा (एमाले) बाहिरिने भएको छ। एमाले बागमती प्रदेश संसदीय दलले सरकारमा प्रतिनिधित्व गरेका आफ्ना मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको छ। संसदीय दलका नेता जगन्नाथ थपलियाले मन्त्रीलाई पदबाट राजीनामा दिएर सरकारबाट बाहिरिन निर्देशन दिनुभएको हो।
नेता थपलियाले आफू हाल काठमाडौँमा रहेको जनाउँदै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिइसकिएको बताउनुभयो। उहाँले भन्नुभयो, “मन्त्रीहरूको राजीनामापछि आगामी रणनीति तय हुन्छ।”
अन्य प्रदेशमा जस्तै सत्ता साझेदार दल नेपाली कांग्रेस र एमालेबीच गठबन्धनमा विवाद उत्पन्न भएपछि सरकारबाट बाहिरिने निर्णयमा पुगेको एमालेले जनाएको छ। नेता थपलियाले मन्त्रीहरूलाई समय मिलाएर मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष राजीनामा बुझाउन निर्देशन दिइएको जानकारी दिनुभयो।
बागमती प्रदेश सरकारमा एमालेका तीन जना बिना विभागीयसहित छ जना मन्त्री छन्। एमालेबाट कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरण मन्त्री मधुसुदन पौडेल, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ तथा भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा सरकारमा छन्। त्यसैगरी बिना विभागीय मन्त्रीका रूपमा किरण थापा मगर, जयराम थापा र भरतबहादुर केसी रहेका छन्।
उता कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरण मन्त्री मधुसुदन पौडेलले भने राजीनामाबारे आफूलाई औपचारिक जानकारी नभएको बताउनुभयो।
एमाले बागमती प्रदेशका प्रमुख सचेतक एकालाल श्रेष्ठले सरकार छाड्ने विषयमा छलफल भइरहेको भए पनि मन्त्रीको राजीनामाबारे अन्तिम निर्णय भइनसकेको र थप निर्णयका विषयमा आफूलाई जानकारी नभएको बताउनुभयो।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको नेतृत्वमा रहेको प्रदेश सरकारले गत जेठ २१ गते मन्त्रालयको सङ्ख्या १४ बाट घटाएर आठ बनाउने निर्णय गरेको थियो। सो निर्णय साउन १ गतेदेखि कार्यान्वयनमा ल्याइएपछि आठ मन्त्रालयलाई जिम्मेवारी तोकिएको छ भने छ जना मन्त्रीलाई बिना विभागीय मन्त्रीका रूपमा राखिएको छ। गोरखापत्र अनलाइन

